नेकपा एमालेको सबै जिल्ला अधिवेशन आज « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

नेकपा एमालेको सबै जिल्ला अधिवेशन आज


२३ पुस २०७८, शुक्रबार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एमाले)को ७७ जिल्ला अधिवेशन आज (शुक्रबार) हुँदै छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कार्यालयमा स्थापित ‘एक्सन रुम’ बाट जिल्ला अधिवेशनको उद्घाटन एवं सम्बोधन गर्ने कार्यक्रम छ ।

केन्द्रीय प्रचार विभागका उपप्रमुख विष्णु रिजालका अनुसार अध्यक्ष ओलीले बिहान ११ बजे केन्द्रीय कार्यालयको एक्सन रुमबाट देशभरका जिल्ला अधिवेशनको भर्चुअल उद्घाटन एवं सम्बोधन गर्नेछन् ।

यसअघि एमालेले देशभर एकै दिन वडा अधिवेशन र पालिका अधिवेशन सम्पन्न गरेको थियो । सो अधिवेशनमा पनि अध्यक्ष ओलीले केन्द्रीय एक्सन रुमबाटै उद्घाटन एवं सम्बोधन गरेको थियो ।

यसै गरी, काठमाडौँ जिल्ला अधिवेशनका लागि सम्पूर्ण तयारी पूरा भएको एमाले काठमाडौँले जनाएको छ । मूलपानीस्थित क्रिकेट मैदानमा हुने काठमाडौँ जिल्ला अधिवेशनको उद्घाटन कार्यक्रममा एक लाख कार्यकर्ता सहभागी गराउने लक्ष्यसहित तयारी पूरा भएको काठमाडौँ जिल्ला अध्यक्ष कृष्ण राईले बताए ।

अध्यक्ष राईका अनुसार, काठमाडौँ जिल्ला अधिवेशनका लागि काठमाडौँका ११ पालिका, १३८ वडा र १० निर्वाचन क्षेत्रबाट प्रतिनिधिहरू छनोट भइसकेका छन् ।

उद्घाटन कार्यक्रम क्रिकेट मैदानमा भए पनि बन्दसत्र राष्ट्रिय सभागृहमा शनिबार हुने जनाइएको छ । उद्घाटन कार्यक्रमअघि थली, मूलपानीको पीपलबोट र नारायणटारलगायत स्थानबाट र्‍याली निकालिने अध्यक्ष राईले जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस