सुर्खेतमा थपिए १० हजार बढी मतदाता « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

सुर्खेतमा थपिए १० हजार बढी मतदाता


२२ पुस २०७८, बिहिबार


कर्णाली । प्रदेश निर्वाचन कार्यालयले स्थानीयस्तरसम्म मतदाता नामावली सङ्कलन अभियान सञ्चालन गरेपछि सुर्खेतमा १० हजार बढी मतदाता थपिएका छन् ।

निर्वाचन आयोगले मङ्सिरदेखि पुस १८ गतेसम्म स्थानीय तहमा सञ्चालन गरेको विशेष अभियानबाट सुर्खेतमा १० हजार ४१४ नयाँ मतदाता थपिएका हुन् ।

प्रदेश निर्वाचन कार्यालय सुर्खेतले विशेष अभियान सकिए पनि जिल्ला प्रशासन, निर्वाचन कार्यालय र इलाका प्रशासनबाट नियमित मतदाता नामावली दर्ता भइरहेको जनाएको छ ।

प्रदेश निर्वाचन अधिकारी दुर्गाप्रसाद चालिसेले निर्वाचनको मिति घोषणा नहुञ्जेलसम्म मतदाता नामावली सङ्कलन कार्य चलिरहने हुँदा मतदाता सङ्ख्या अझै बढ्ने बताए ।

उनका अनुसार अन्य जिल्लाका एक हजार ६१० जनाले सुर्खेतबाट नामावली दर्ता गराएका छन् । उनीहरुको मतदाता विवरण भने सम्बन्धित जिल्लामै कायम हुनेछ ।

यसअघि सुर्खेतमा दुई लाख १३ हजार मतदाता थिए । निर्वाचन आयोगले स्थानीयस्तरमै जनशक्ति परिचालन गरी पहिलो र दोस्रो चरणको मतदाता नामावली सङ्कलन गर्न विशेष अभियान सञ्चालन गरेको थियो ।

प्रदेश निर्वाचन अधिकारी चालिसेले सुर्खेतका स्थानीय तहमा मङ्सिर १७ देखि पुस २ गतेसम्म पहिलो चरण तथा पुस ४ देखि १८ गतेसम्म दोस्रो चरणको अभियान सञ्चालन गरिएको जानकारी दिए ।

विशेष अभियानमा छुटेका व्यक्तिले इलाका प्रशासन कार्यालय बाबियाचौर, जिल्ला प्रशासन र निर्वाचन कार्यालयमा नाम दर्ता गराउन सकिने उनको भनाइ छ ।

विशेष अभियानका क्रममा चिङ्गाडमा १९८, चौकुनेमा ६५६, सिम्तामा ४४१ र बराहताल गाउँपालिकामा ५०४ तथा लेकबेँसीमा ९८४, गुर्भाकोटमा एक हजार ४०२ र भेरीगङ्गा नगरपालिकामा दुई हजार ६७ नयाँ मतदाता थपिएका छन् ।

त्यस्तै पञ्चपुरी नगरपालिकाको इलाका प्रशासन कार्यालय बाबियाचौर तथा वीरेन्द्रनगर नगरपालिकाको जिल्ला प्रशासन र प्रदेश निर्वाचन कार्यालयबाटै नामावली सङ्कलन गरिएको थियो ।

जिप्रकाबाट एक हजार ७१४, इलाका प्रशासन कार्यालय बाबियाचौरबाट एक हजार ५४ र प्रदेश निर्वाचन कार्यालयबाट एक हजार २९३ जनाले फोटोसहितको मतदाता नामावली दर्ता गराएको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस