चिसोसँगै विद्युत खपत पनि बढ्यो , १७ सय मेगावाट खपत « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

चिसोसँगै विद्युत खपत पनि बढ्यो , १७ सय मेगावाट खपत


१५ पुस २०७८, बिहिबार


काठमाडौँ । गत मंगलबार देखिको मौसम बदलीसँगै बढेको चिसोका कारण विद्युत खपत वर्षकै उच्च तहमा पुगेको छ । नेपाल विद्युत प्राधिकरणको तथ्याङ्क अनुसार विद्युत खपत एक हजार छ सय ९९ मेगावाट पुगेको छ ।

प्रभावकारी विद्युत वितरण हुन सकेको भए विद्युत खपत अझ वृद्धि भएर एक हजार सात सय ५० मेगावाटसम्म पुग्ने प्राधिकरण प्रवक्ता सुरेशबहादुर भट्टराईले बताए । पुराना संरचना र चिसोसँगै विद्युत वितरण प्रभावकारी नहुँदा धेरैजसो स्थानमा विद्युत कटौती भएको उनले बताए ।

बुधबारको विद्युतमाग वर्षकै उच्च हो । माग बढी हुँदा प्राधिकरणको वितरण संरचनाले समेत नधानेर ट्रान्सफर्मर पड्किने समस्या, क्षमताले नधान्दा तारमा आगो लाग्ने, भूमिगत वितरण लाइनलाई सञ्चालन गर्न नसक्दा ग्राहकलाई भनेअनुसार विद्युत आपूर्ति गर्न नसकेको प्रवक्ता भट्टराईको बताए । प्राधिकरणले विद्युत खपतलाई वृद्धि गर्न विभिन्न रणनीतिहरु अपनाउन सुरु गरेसँगै वितरणलाई प्रभावकारी बनाउने लागि परेको उनले बताए।

चिसोका कारण तातो बनाउने विद्युतीय सामाग्री प्रयोगको दर धेरै वृद्धि भएको पाइएको छ । वितरणलाई प्रभावकारी बनाउन प्राधिकरणको पुरानो संरचना पुनः निर्माण, भूमिगत संरचना तत्काल सञ्चालन गर्ने, सडकले अवरुद्ध गरेको निर्माण कार्यलाई तत्काल समन्वय गरी काम अघि बढाउने, लगाइएको ठेक्का कोभिड–१९ ले ढिलाइ भए पनि तत्काल काम सम्पन्न गर्न ताकेता गर्ने जस्ता काम अघि बढाइएको प्राधिकरणले जनाएको छ ।

वितरणका लागि सव–स्टेसन निर्माणलाई तीव्रता दिएसँगै प्रसारण लाइन विस्तार पनि द्रुत गतिमा भएकाले आउने वर्षदेखि विद्युत खपतको दर एक हजार आठ सय मेगावाट माथि पुर्‍याउने लक्ष्य राखेको प्राधिकरणले जनाएको छ ।

खपत वृद्धिसँगै आन्तरिक उत्पादनले अपुग भएको विद्युत हिउँदमा भारतबाट आयत गरी पूर्ति गर्दे आएको जनाएको छ । हाल भारतबाट ६५० मेगावाटसम्म विद्युत आपूर्ति गर्नु परेको प्राधिकरणको तथ्याङ्क छ ।

Tags :
प्रतिक्रिया दिनुहोस