साउदी अरब नेतृत्वको सेनाद्वारा यमनको राजधानीमा हवाई आक्रमण « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

साउदी अरब नेतृत्वको सेनाद्वारा यमनको राजधानीमा हवाई आक्रमण


९ पुस २०७८, शुक्रबार


साना । साउदी नेतृत्वको गठबन्धन सेनाले यमनको राजधानी सानामा बुधबार रातिदेखि हवाई हमला गरेको बताइएको छ ।

हुथी मिलिसियाहरुका विरुद्धमा सो सेनाका युद्धक विमानहरुले हवाई आक्रमण गरेका बताइएको छ ।

ती सेनाले हुथी विद्रोहीहरुले निर्माण गरेका आश्रयस्थलका साथै उनीहरुद्वारा नियन्त्रित सैन्य शिविरमा हवाई आक्रमण गरेको हुथीद्वारा सञ्चालित अल–मासिराह टिभीले जनाएको छ ।

युद्धक विमानहरुले गरेका सो आक्रमणको आवाज नै सुनिएको पनि बताइएको छ । यस हवाई आक्रमणबाट यमनी सहर सानाको पूर्वी क्षेत्रमा रहेको हाफा शिविर प्रभावित भएको बताइएको छ ।

यस हमलाबाट भएको क्षतिको विस्तृत विवरण भने दिइएको छैन । हवाई आक्रमणपछि सहरभर शक्तिशाली विस्फोटको आवाज सुनिएको बताइएको छ ।

सो हमलामा परेर यहाँका हुथी मिलिसियाहरुले निर्माण गरेका केही आश्रयस्थल र सैन्य शिविर ध्वस्त भएका छन् । उनीहरुको पकड रहेको भनिएका केही क्षेत्रमा यी सेनाको आक्रमण विगतदेखि नै जारी रहेको थियो ।

इरान समर्थित हुथी मिलिसियाले पनि गत हप्ता यहाँ आक्रमण गरेका र सो ड्रोन आक्रमणबाट दुई वटा गुफा र चार वटा भूमिगत गोदाम ध्वस्त भएको गठबन्धन सेनाले जनाएको थियो ।

केही महिनामात्र अघि यमनी विद्रोही समूहले मध्य यमनको अत्यधिक तेल रहेको प्रान्त मारिब कब्जा गर्न साउदी समर्थित सरकारी सेनाविरुद्ध ठुलो आक्रमण सुरु गरेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस