काँग्रेस महाधिवेशन : चितवनबाट पहिलोपटक केन्द्रीय सदस्यमा पाँच जना निर्वाचित « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

काँग्रेस महाधिवेशन : चितवनबाट पहिलोपटक केन्द्रीय सदस्यमा पाँच जना निर्वाचित


९ पुस २०७८, शुक्रबार


चितवन । नेपाली काँग्रेस पार्टी स्थापना पछि पहिलोपटक चितवनले केन्द्रीय सदस्य पाएको छ । काँग्रेसको १४औँ महाधिवेशनमा जिल्लाबाट पाँच जना केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन् ।

यसअघि पूर्व जिल्ला सभापति कृष्णलाल सापकोटा आमन्त्रित केन्द्रीय सदस्य भएको भए पनि निर्वाचित सदस्य अहिलेसम्म कोही हुन सकेका थिएनन् ।

चौधौँ महाधिवेशनबाट काँग्रेसका पूर्व जिल्ला सभापति टेकप्रसाद गुरुङ, प्रतिनिधि सभा सदस्य उमेश श्रेष्ठ, तत्कालीन संविधानसभा सदस्य अञ्जनी श्रेष्ठ, नेता दिनेश कोइराला र शान्ति परियार विक निर्वाचित भएका छन् । महाधिवेशनमा जिल्लाबाट १३ जनाले केन्द्रमा उम्मेदवारी दिएका थिए ।

काँग्रेसको राजनीतिमा पाँच पटकसम्म चितवनको सभापति भएर काम गरेका गुरुङ आदिवासी जनजाति कोटाबाट केन्द्रीय नेतृत्वमा पुग्न सफल भएका हुन् ।

विसं २०१८ देखि काँग्रेसको राजनीतिमा सक्रिय गुरुङले २०७० सालको निर्वाचनमा तत्कालीन पार्टी सभापति सुशील कोइरालालाई चितवनबाट जिताउन टिकटसमेत त्यागेर सहयोग गरेका थिए ।

यस्तै व्यापारिक पृष्ठभूमिबाट काँग्रेसको राजनीतिमा आएका श्रेष्ठ हाल प्रधानमन्त्री कार्यालयका बहालवाला राज्यमन्त्री छन् । केही समय स्वास्थ्य राज्यमन्त्री बनेका श्रेष्ठ शिक्षा, स्वास्थ्य, जलविद्युत् र पर्यटन व्यवसायसँगै बैङ्किङ क्षेत्रका ठुला लगानीकर्ता हुन् ।

श्रेष्ठ पनि चितवनबाटै प्रतिनिधित्व गर्दै पार्टीको केन्द्रीय जिम्मेवारीमा पुग्न सफल भएका हुन् । पार्टीको १३औँ महाधिवेशनमा पनि महासमिति सदस्य भएका श्रेष्ठ चितवन क्षेत्र नं ३ बाट महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका थिए । तत्कालीन संविधानसभा सदस्यको जिम्मेवारीसमेत निर्वाह गरी सकेका श्रेष्ठ अहिले प्रतिनिधि सभा सदस्य रहेका छन् ।

नेपाल विद्यार्थी सङ्घबाट काँग्रेसको राजनीतिमा सक्रिय भएकी नेत्री अञ्जनी श्रेष्ठ पनि केन्द्रीय सदस्यमा निर्वाचित भएकी छन् । आदिवासी जनजाति कोटाबाटै केन्द्रीय समितिमा प्रवेश गरेकी श्रेष्ठ तत्कालीन संविधानसभा निर्वाचनपछि समानुपातिक तर्फबाट संविधानसभा सदस्य बनेकी थिइन् । काँग्रेस चितवनको जिल्ला कार्यसमितिमा रहेर काम गरेकी उनी पद्मकन्या क्याम्पसबाट स्वतन्त्र विद्यार्थी युनियनकी सभापतिसमेत भएर काम गरेकी थिइन् ।

विसं २०७४ मा सम्पन्न स्थानीय तह निर्वाचनमा नेता दिनेश कोइराला भरतपुर महानगरपालिकाको प्रमुखको उम्मेदवार थिए । नेकपा (माओवादी केन्द्र)सँग तालमेल हुने भएपछि उनले उम्मेदवारी छोडेका थिए ।

स्थानीय तह निर्वाचनमा टिकट फिर्ता लिएपछि उनी त्यसपछिको निर्वाचनमा चितवन–३ ९क० बाट प्रदेशसभा सदस्यमा उम्मेदवार बने । कोइरालाले नेपाल विद्यार्थी सङ्घबाट राजनीतिक यात्रा सुरु गरेका हुन् । उनी सन् २००८ मा जेसीजको राष्ट्रिय अध्यक्ष भएका थिए ।

यस्तै विद्यार्थी राजनीतिबाटै मूलधारको राजनीतिमा सक्रिय परियार दलित सङ्घ चितवनकी अध्यक्ष हुन् । दलित समुदायको मुद्दालाई अघि बढाउँदै आएकी उनी पहिलोपटक केन्द्रीय समितिमा पुग्न सफल भएकी छन् ।

निर्वाचित तीन जना संस्थापन समूह र दुई जना संस्थापन इतर समूहबाट निर्वाचित भएकी हुन् । काँग्रेस चितवनका सभापति जितनारायण श्रेष्ठ भने झिनो मतान्तरले पराजित भए ।

Tags :
प्रतिक्रिया दिनुहोस