काँग्रेस प्रदेश नं २ को नेतृत्वका लागि मतदान जारी: दुई बजेसम्म ७०० मत खस्यो « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

काँग्रेस प्रदेश नं २ को नेतृत्वका लागि मतदान जारी: दुई बजेसम्म ७०० मत खस्यो


८ पुस २०७८, बिहिबार


धनुषा । नेपाली काँग्रेसको १४औँ महाधिवेशनअन्तर्गत प्रदेश नं २ को नयाँ नेतृत्वका लागि आज भइरहेको मतदान जारी छ । योसँगै उम्मेदवारहरुले मतदातासँग मत माग्ने क्रम पनि जारी रहेको छ ।

बुधबार नै मतदान हुने कार्यतालिका रहे पनि मतपत्र छपाइमा भएको ढिलाइका कारण आज बिहान १० बजेदेखि मतदान सुरु भएको थियो । दिउँसो २ बजेसम्ममा ७०० जनाले मतदान गरेको निर्वाचन समितिका संयोजक प्रह्लाद गौतमले जानकारी दिए ।

आज दिउँसो ३ बजेसम्मका लागि मतदानको समय तोके पनि मतदाताको लामो लाइन भएको हुँदा मतदान कार्यक्रम अबेर साँझसम्म चल्ने बताइएको छ ।

जनकपुरधामको गोपाल धर्मशालामा कडा सुरक्षाबिच मतदान कार्यक्रम भइरहेको छ । अहिलेसम्म व्यवस्थित रुपमा मतदान भइरहेको निर्वाचन समितिले जनाएको छ ।

मतदानका लागि दुई–दुई जिल्ला गरेर चार वटा बुथको व्यवस्था गरिएको छ । धनुषा–महोत्तरी, सिराहा– सप्तरी, सर्लाही– रौतहट र बारा– पर्साका गरेर चार वटा बुथ तोकेर मतदाताले मतदान गरिरहेका छन् ।

काँग्रेस प्रदेश नं २ को नयाँ नेतृत्वका लागि संस्थापन पक्ष र कोइराला–निधि पक्ष प्यानलसहित चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । सहमतिमा नेतृत्व टुङ्गो लगाउने प्रयास असफल भएपछि दुवै समूह छुट्टाछुट्टै प्यानल बनाएर चुनावी मैदानमा उत्रिएका हुन् ।

संस्थापन पक्षले काँग्रेस रौतहटका सभापति कृष्णा यादवको नेतृत्वमा प्यानलसहित उम्मेदवारी दर्ता गराएको छ भने कोइराला–निधि पक्षले काँग्रेस प्रदेश नं २ संसदीय दलका नेता रामसरोज यादवको नेतृत्वमा प्यानलसहित उम्मेदवारी दर्ता गराएको छ ।

कूल ७२ पदका लागि १७४ जनाले विभिन्न पदमा उम्मेदवारी दिएका छन् । जसमध्ये पाँच जना सदस्य निर्विरोध निर्वाचित भएको र छ जना उम्मेदवारले उम्मेदवारी फिर्ता लिइसकेका छन् ।

प्रदेश नं २ का आठ जिल्लाको ६४ वटा प्रदेश निर्वाचन क्षेत्रबाट २५ जना गरी दुई हजार मतदाता रहेको बताइएको छ । यसैबीच काँग्रेसका नेता एवम् पूर्व उपसभापति बिमलेन्द्र निधिले गोपाल धर्मशालामा पुगेर मतदान गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस