वडामै पुगेर नागरिकताको प्रमाणपत्रका लागि लगत सङ्कलन « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

वडामै पुगेर नागरिकताको प्रमाणपत्रका लागि लगत सङ्कलन


५ पुस २०७८, सोमबार


मार्तडी । बाजुरा जिल्ला प्रशासन कार्यालयले यहाँका नौ वटै पालिकाका वडामा पुगेर नागरिकताको प्रमाणपत्रका लागि लगत सङ्कलन गर्न थालेको छ ।

अर्थोपार्जनमा कमजोर भएका, अपाङ्गता र अशक्त नागरिकका लागि आफन्तबाट गाउँमै सनाखत गराउँदै लगत सङ्कलन गरी जिप्रकाबाट पछि वितरण गर्ने गरी नागरिकता सहायता कार्यक्रम सञ्चालन गरिएको प्रजिअ गोपालकुमार अधिकारीले बताए ।

दुर्गम तथा हिमाली पालिकाका विकट वडाका नागरिकलाई गाउँमै सहजरुपमा नागरिकता प्रदान गर्नका लागि प्रशासनले वडा कार्यालयको सिफारिस र आफन्तको सनाखतअनुसार विवरण सङ्कलन गर्न थालिएको उनको भनाइ थियो ।

अति विपन्न र अपाङ्गता भएका र अशक्त एकल महिलालाई जिल्लामा आएर नागरिकता लिन सकस हुने भएकाले पूर्वी र उत्तरी भेगका चार पालिकामा कर्मचारी खटाएर विवरण सङ्कलन गर्दै जिल्लामा ल्याउने गरिएको प्रजिअ अधिकारीले बताए ।

यहाँको पूर्वी उत्तरी भेगको हिमाली गाउँपालिका र जगन्नाथ गाउँपालिकामा प्रशासनको टोलीले नागरिकता सहायतामा सहजीकरण गर्दै आएको छ । पालिकाका वडा कार्यालयले सिफारिस गरेका नागरिकको आवश्यक प्रमाण अपुग भएमा प्रमाण जुटाउनका लागि सहजीकरण गर्दै उक्त विवरण सङ्कलन गरिएको हो ।

बिहीबार र शुक्रबार जगन्नाथ गाउँपालिकाको जुड्डीमा १९० जनाको र हिमाली गाउँपालिकामा पनि शनिबार र आइतबार गरी २७५ जनाको विवरण सङ्कलन गरिएको छ ।

गाउँपालिकामा रहेका नागरिकको नागरिकताका लागि आवश्यक प्रमाण जुटाएर उनीहरुलाई एक साताभित्र नागरिकता दिने गरी विवरण सङ्कलन गरिएको प्रजिअ अधिकारीले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस