काठमाडौँ । साफ यू–१९ महिला च्याम्पियनसिपको उपाधि जित्ने लक्ष्यसहित बंगलादेश पुगेको नेपाली यू–१९ महिला फुटबल टिम फाइनल समेत पुग्न सकेन् ।
पाँच राष्ट्र सहभागी च्याम्पियनसिपमा नेपाल राउण्ड रोविन लिगको खेल सकिएपछि तेस्रो हुँदै बाहिरिएको हो । आइतबार भएको आफ्नो अन्तिम खेलमा भारतसँग १–० ले पराजित भएपछि नेपाल फाइनलमा समेत पुग्न नसकेको हो ।
ढाका जानुअघि राष्ट्रिय टिमकी सदस्य समेत रहेकी कप्तान तथा गोलकिपर अन्जना राना मगर र प्रशिक्षक हरि ओम श्रेष्ठले नेपालको लक्ष्य उपाधि जित्ने नै रहेको बताएका थिए ।
तर त्यो लक्ष्य पूरा नगरी नेपाली टोली स्वदेश फकैने भएको छ । लिगको अन्तिम खेलमा घरेलु टोली बंगलादेशले श्रीलंकालाई १२–० को फराकिलो अन्तरले पराजित गरेपछि नेपाल बाहिरिने औपचारिकता पूरा भएको थियो ।
आयोजक बंगलादेश अपराजित रहँदै ४ खेलबाट १० अंक जोड्दै शीर्ष स्थानमा रहेर फाइनल पुग्यो । चारमध्ये तीन खेल जितेको भारत ९ अंक जोडेर दोस्रो हुँदै फाइनल पुग्यो । अब बंगलादेश र भारतबीच फाइनल खेल हुनेछ । नेपाल भने २ जित, १ बराबरी र १ हारपछि ७ अंक जोडेर तेस्रो भयो ।
सम्भावित १२ अंकमध्ये नेपालले ५ अंक गुमाउँदा ७ अंक फाइनल पुग्न पर्याप्त भएन ।