काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठकअघि सत्तारुढ गठबन्धनको बैठक बालुवाटारमा सुरु भएको छ ।
बैठक बस्न ढिलो भएपछि नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल बाहिरिएका छन् । बाहिरिने क्रममा नेपालले ‘अर्को बैठकमा जान लागेको’ प्रतिक्रिया दिएका छन् ।
बैठक दिउँसो २ बजे तय गरिएको थियो । तर, ज्यापु दिवसको अवसरमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री देउवा सहभागी भएकाले बैठक सवा एक घण्टा बित्दासम्म सुरु भएको थिएन ।
सत्तारुढ गठबन्धनको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवासहित नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, जसपा अध्यक्ष उपेन्द्र यादव लगायत सहभागी छन् ।
प्रधानमन्त्री देउवाले संसद् सुचारु गर्ने लगायतका विषयमा छलफल गर्न सर्वदलीय बैठक बोलाएका हुन् । नेकपा एमालेले भने सर्वदलीय बैठकमा नजाने बताइसकेको छ ।