प्रदेश २ का आठ जिल्लामा विद्युत् प्रणाली सुधार गरिँदै « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

प्रदेश २ का आठ जिल्लामा विद्युत् प्रणाली सुधार गरिँदै


२७ मंसिर २०७८, सोमबार


काठमाडौँ । प्रदेश २ का आठ जिल्लाको विद्युत् प्रसारण र वितरण प्रणाली सुधारको काम सुरु भएको छ ।

नेपाल विद्युत् प्राधिकरणले सञ्चालन गरेको ग्रामीण विद्युतीकरण तथा वितरण प्रणाली सुदृढीकरण आयोजनाअन्तर्गत महोत्तरीको बर्दिबास नगरपालिका–२ मा नयाँ सबस्टेसनको शिलान्यास गत शुक्रबार गरिएको छ ।

आयोजनाअन्तर्गत आठ जिल्लाको विद्युत् आपूर्ति भरपर्दो र गुणस्तरीय बनाउन आधुनिक उपकरणसहितका ३३ / ११ केभी क्षमताका १० वटा सबस्टेसनको निर्माण गरिनेछ ।

साथै ३२३ सर्किट किलोमिटर ३३ केभी प्रसारण लाइन, ९५० सर्किट किलोमिटर ११ केभी लाइन, एक हजार सर्किट किलोमिटर चार सय भोल्टको नयाँ लाइन निर्माण र विभिन्न क्षमताका ५०० थान नयाँ वितरण ट्रान्सफर्म जडान गर्ने योजना छ ।

आयोजनामार्फत प्रदेश २ का सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्साको विद्युत् वितरण प्रणालीको सुदृढीकरण तथा पुनर्स्थापना र पूर्ण विद्युतीकरण गरिने प्राधिकरणले जनाएको छ ।

प्रदेश २ मा धेरै स्थानमा पुरानो र जीर्ण संरचनामार्फत विद्युत् वितरण भइरहेको चर्चा गर्दै प्राधिकरणको प्रादेशिक कार्यालय, जनकपुरका प्रमुख मुनिन्द्र ठाकुरले आयोजनामार्फत जीर्ण संरचनालाई प्रतिस्थापन गरिने र सबै जिल्लालाई पूर्ण विद्युतीकरण गरिने बताए ।

आयोजना संयोजक बोधरा ढकालका अनुसार विद्युत् वितरण लाइनको स्तरीयता, कृषि र औद्योगिक लाइनको थप क्षमता विस्तारलाई ध्यान दिई वितरण प्रणाली सुधार गर्न लागिएको हो ।

प्राधिकरणको आयोजना व्यवस्थापन निर्देशनालयमार्फत कार्यान्वयन भइरहेको आयोजनालाई पाँच खण्डमा विभाजन गरिएको छ । सबै खण्डको निर्माण एक साथ अगाडि बढाइएको छ । आयोजना निर्माणका लागि प्राधिकरण र निर्माण कम्पनी टाटा प्रोजेक्टबीच गत चैतमा करिब चार अर्ब रुपियाँको ठेक्का सम्झौता भएको थियो ।

आयोजना निर्धारित समय ३० महिनाभित्रमा सम्पन्न हुने गरी काम भइरहेको कम्पनीका प्रोजेक्ट मेनेजर सन्दीप कुमारले बताए । आयोजना कार्यान्वयनका लागि नर्वे सरकारले तीन करोड ५० लाख अमेरिकी डलर अनुदान उपलब्ध गराएको छ । यो अनुदान एसियाली विकास बैङ्कमार्फत सञ्चालित छ ।

Tags :
प्रतिक्रिया दिनुहोस