सिरिया द्वन्द्वको राजनैतिक समाधानको सम्भावना देखिएको संयुक्त राष्ट्रसङ्घीय अधिकारीको भनाइ « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

सिरिया द्वन्द्वको राजनैतिक समाधानको सम्भावना देखिएको संयुक्त राष्ट्रसङ्घीय अधिकारीको भनाइ


२७ मंसिर २०७८, सोमबार


दमास्कस । संयुक्त राष्ट्रसङ्घका सिरियाका लागि विशेष दूत गेइर पेडरसेनले आइतबार पश्चिम र अरब देशका अधिकारीहरूसँगको भेटपछि सिरियामा राजनैतिक समाधानका लागि नयाँ सम्भावनाहरू देखिएको बताएका छन्।

पेडरसेनले दमास्कसमा संवाददाताहरूसँग भने, “मेरो विचारमा सिरियाली राजनीतिक सङ्कटको अब चरणवद्धरूपमा निकास खोज्न विश्व शक्तिहरू अग्रसर हुनेछन् ।

मलाई लाग्छ केही विश्वास निर्माण गर्न वार्ता सुरु गर्न सकिन्छ । उनले थपे, ‘मैले अमेरिकी, युरोपेली तथा अरब राष्ट्रका नेताहरूसँग ‘गहन छलफल’ गरेको छु । नेताहरू सिरियाली समस्या समाधानका लागि गम्भीर देखिनुभएको छ ।’

उनले हालै आफू अरब देशहरू भ्रमण गरेको र त्यहाँका उच्च पदस्थ अधिकारीसँग पनि सिरियाली सङ्कट समाधानका लागि व्यापक छलफल गरेको बताए ।

सिरियाको दशक लामो युद्धको व्यापक राजनीतिक समाधानका लागि सबै क्षेत्रीय र अन्तर्राष्ट्रिय मध्यस्थकर्ताको छनोटका साथै सिरियामा विकसित पछिल्ला घटनाहरूको विश्लेषण गर्नुपर्ने जिकिर उनले गरे।

उनले भने, ‘मेरो सन्देश यो हो कि द्वन्द्व समाधानका सम्भावित विन्दूहरू पत्ता लगाउन प्रक्रियामा अगाडि बढ्न सुरु गर्नु जरुरी छ र यो सम्भावना छ ।’

आइतबार नै दमास्कस आइपुगेपछि पेडरसेनले सिरियाली विदेशमन्त्री फैसल मेकदादसँग भेटवार्ता गरेका थिए। त्यस लगत्तै उनले संवाददाताहरुसँग आफूबीच गहन छलफल भएको बताएका हुन् ।

दुई घण्टाभन्दा बढी समयसम्म चलेका छलफलमा सिरियाले सामना गर्ने सबै चुनौतीका विषयमा विचार विमर्श भएको थियो । उनले भने, “हामीले स्पष्ट रूपमा सैन्य स्थिति, आर्थिक स्थिति, मानवीय स्थिति र त्यससँग सम्बन्धित राजनैतिक प्रक्रियालाई निसन्देह रूपमा हेर्‍यौँ ।

Tags :
प्रतिक्रिया दिनुहोस