राजनीतिक व्यवस्था नसुध्रिएकोमा पूर्व राष्ट्रपतिको चिन्ता « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

राजनीतिक व्यवस्था नसुध्रिएकोमा पूर्व राष्ट्रपतिको चिन्ता


१८ मंसिर २०७८, शनिबार


काठमाडौँ । नेपाली उत्पादनलाई विश्वबजारमा पहुँच अभिवृद्धि गर्ने र युवालाई रोजगारी सिर्जना गर्ने उद्देश्यले अन्तर्राष्ट्रिय नेपाली युवा उद्यमी महासङ्घ स्थापना गरिएको छ ।

विश्वका विभिन्न मुलुकमा छरिएर रहेका युवा उद्यमीलाई समेटेर स्थापना गरिएको महासङ्घले नेपाली उत्पादनको विदेशमा प्रदर्शनी, बजारीकरणलगायत विषयमा सहजीकरण गर्ने र बढीभन्दा बढी युवालाई स्वरोजगार बनाउने लक्ष्य लिएको छ ।

उक्त संस्थाको शुक्रबार राति पूर्वराष्ट्रपति डा रामवरण यादवले उद्घाटन गर्दै विदेशी ज्ञान, सीप र प्रविधि भित्र्याएर युवा उद्यमशीलता विकासमा संस्थाले सहयोगी भूमिका खेल्ने विश्वास व्यक्त गरे । ‘जन्मभूमिलाई कसरी आर्थिकरुपमा समृद्धि बनाउने भन्ने युवामा सपना र भिजन रहेको छ, त्यसलाई साकार बनाउन उचित वातावरण बनाउन सरोकारवालाले सहयोग गर्न जरुरी छ’, उनले भने ।

पूर्वराष्ट्रपति यादवले नेपाल अनुपम प्राकृतिक सुन्दरता र भौगोलिक विविधतायुक्त मुलुक विश्व पर्यटनका लागि आकर्षक गन्तव्य रहेको भन्दै देश घुम्ने र विश्वभरबाट पर्यटक नेपालमा भित्र्याउन पनि संस्थाले भूमिका खेल्नुपर्नेमा जोड दिए । तराईको जङ्गल र चुरे क्षेत्र विनाश भइरहेको र विकासका नाममा डोजर लगाएर डाँडाकाँडा भत्काइएकोप्रति चिन्ता व्यक्त गर्दै उनले जलवायु परिवर्तनको जोखिम नियन्त्रणका लागि पर्यावरण र चुरे क्षेत्रको संरक्षणमा विशेष ध्यान दिनुपर्ने खाँचो औँल्याए ।

पूर्वराष्ट्रपति यादवले मुलुकको राजनीतिक स्थिरताका लागि पञ्चायत, लोकतन्त्र र गणतन्त्र हुँदै ७० वर्षभन्दा बढी सङ्घर्ष गरेर अहिलेको अवस्थामा आइपुगेको भए पनि अझै पनि देशको राजनीतिक व्यवस्था नसुध्रिएको र सुशासन प्रवर्द्धन हुन नसक्नु चिन्ताको विषय भएको टिप्पणी गरे । नेपाल चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालले कला र संस्कृति बनाउन संस्थागत लगानी आवश्यक रहेको भन्दै नेपाली चलचित्रमा आधुनिक प्रविधिको उच्चतम प्रयोगले विश्व बजारमा प्रतिस्पर्धी बनाउन चलचित्र क्षेत्र लागि परेको बताए ।

नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष कमलेश अग्रवालले विदेशी युवा उद्यमीको माध्यमबाट लगानी र प्रविधि भित्र्याएर आर्थिक विकासमा सरिक गराइनुपर्नेमा जोड दिए । नेपाल उद्योग वाणिज्य महासङ्घका उपनिर्देशक गोकर्णराज अवस्थी, शिक्षा उद्यमी दिराज शर्मा, पर्यटन व्यवसायी सुमन पान्डेलगायतले नेपालमा विदेशी लगानी भित्र्याउन महासङ्घले समन्वयकारी भूमिका खेल्नुपर्ने धारणा राखे ।

महासङ्घका अध्यक्ष स्वतन्त्रप्रताप साहले चीन, हङ्कङ, अमेरिका, बेलायत अष्ट्रेलियालगायत ११ मुलुकका युवा उद्यमीलाई समेटिएको र अन्य मुलुकका युवा उद्यमीलाई पनि संस्थामा आबद्धता गरिने जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस