उच्च पहाडी र हिमाली भू–भागमा हिमपातको सम्भावना « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

उच्च पहाडी र हिमाली भू–भागमा हिमपातको सम्भावना


१६ मंसिर २०७८, बिहिबार


काठमाडौँ । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले आगामी तीन दिन देशभर बदली हुनाका साथै उच्च पहाडी तथा हिमाली भागमा हिमपात हुने भएको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार नेपालमा पश्चिमी वायुसँगै पश्चिमी न्यून चापीय प्रणाली (पश्चिमी ट्रफ) र अरब सागरमा बनेको न्यून चापीय क्षेत्र (कम दबाब प्रणाली) को चापका कारण बदलीसँगै ती स्थानमा हिमपातको सम्भावना देखिएको हो ।

यो क्रम आगामी शनिबारसम्म कायम रहने भएको छ । हाल देशको सुदूरपश्चिम, कर्णाली, लुम्बिनी तथा गण्डकी प्रदेशमा सामान्यदेखि पूर्ण बदली रही बाँकी भागमा आंशिकदेखि सामान्य बदली भएको छ ।

दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही सुदूरपश्चिम, कर्णाली, लुम्बिनी तथा वाग्मती प्रदेशका पहाडी भागमा हल्कादेखि मध्यम वर्षा हुनाका साथै ती प्रदेशका उच्च पहाडी र हिमाली भागका धेरै स्थानमा माध्यमदेखि भारी हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

भोलि देशभर सामान्यदेखि पूर्णतया बदली रही कर्णाली, लुम्बिनी तथा वाग्मती प्रदेशका पहाडी भागमा हल्कादेखि मध्यम वर्षा र उच्च पहाडी र हिमाली भागको केही स्थानमा मध्यमदेखि भारी हिमपातको सम्भावना रहेको औँल्याइएको छ ।

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरण अनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम आठ दशमलव शून्य डिग्री र अधिकतम तापक्रम २२ दशमलव चार डिग्री सेल्सियस रहेको छ ।

त्यस्तै आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम पाँच दशमलव शून्य डिग्री र सबैभन्दा धेरै भैरहवाको अधिकतम तापक्रम ३० दशमलव शून्य डिग्री सेल्सियस रहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस