व्यवस्थित बन्दै त्रिभुवन विमानस्थल « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

व्यवस्थित बन्दै त्रिभुवन विमानस्थल


१५ मंसिर २०७८, बुधबार


त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनल भवनदेखि गोल्डेन गेटसम निःशुल्क सटल बस सेवा सुरु गरिएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले वैदेशिक रोजगारमा जाने श्रमिकका लागि अन्तर्राष्ट्रिय टर्मिनल भवनभित्र विश्राम कक्षको समेत व्यवस्था गरेको छ ।

सटल बस र विश्राम कक्षको संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री प्रेमबहादुर आलेले आज शुभारम्भ गरे ।

टर्मिनल भवनदेखि नै ट्याक्सी प्रयोग गर्दा महँगो भाडा तिर्नुपर्ने यात्रुको गुनासोलाई मध्यनजर गर्दै प्राधिकरणले गोल्डेन गेटसम्म तत्कालका लागि तीन वटा निःशुल्क सटल बसको व्यवस्था गरेको हो ।

सो सटल बस बिहान ६ बजेदेखि राति ११ बजेसम्म सञ्चालन हुनेछन् । त्यसै गरी वैदेशिक रोजगारीमा जाने यात्रु टर्मिनल भवन बाहिरै उभिनुपर्ने समस्या देखिएपछि ४० यात्रु बस्न मिल्ने विश्राम कक्षको व्यवस्था गरिएको छ ।

सोही अवसरमा मन्त्री आलेले आन्तरिक टर्मिनलमा देखिएको यातायातको समस्याको दीर्घकालीन समाधानका लागि सरकारले सटल बसको व्यवस्था गरिएको जानकारी दिए ।

उनले भने, ‘आन्तरिक टर्मिनल भवनदेखि नै ट्याक्सी प्रयोग गर्दा हवाई जहाजभन्दा बढी भाडा लिने गरेको पाइयो, त्यसको दीर्घकालीन समाधानका निम्ति सटल बसको व्यवस्था गरिएको छ, विमानस्थललाई अझै व्यवस्थित र सुविधा सम्पन्न बनाउन मेरो प्रयास जारी छ ।’

उनले आफू सरकारमा रहुन्जेल आफ्नो मन्त्रालयसँग सम्बन्धित क्षेत्रमा देखिएका विकृतिलाई हटाउँदै जनताको पक्षमा काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।

प्राधिकरणका महानिर्देशक राजकुमार क्षेत्रीले वैदेशिक रोजगारीमा जाने र उताबाट फर्किने यात्रुका लागि छिट्टै निःशुल्क टेलिफोन सेवाको व्यवस्था गर्ने तयारी भइरहेको जानकारी दिए ।

प्राधिकरणले वैदेशिक रोजगारीमा जाने यात्रुका लागि रु एक हजार २०० मा पिसिआर परीक्षण गर्न सकिने व्यवस्था गरेको उनको भनाइ छ ।

विमानस्थल सञ्चालन विभाग प्रमुख प्रेमनाथ ठाकुरले विश्राम कक्षलाई अझै व्यवस्थित गर्दै नयाँ भवनमा थप २५० जना बस्न मिल्ने यात्रु विश्राम कक्षको व्यवस्था गर्ने बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस