मतदाता नामावली सङ्कलन गरिने « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

मतदाता नामावली सङ्कलन गरिने


१५ मंसिर २०७८, बुधबार


भक्तपुर । जिल्ला निर्वाचन कार्यालय भक्तपुरले यही मङ्सिर १७ गतेदेखि भक्तपुरको चार वटै पालिकामा फोटोसहितको मतदाता नामावली सङ्कलन गर्ने भएको छ ।

कार्यालयले आज यसबारेमा जानकारी दिँदै मङ्सिर १७ गतेदेखि पुस २ गतेसम्म पहिलो चरणमा मध्यपुरथिमि र सूर्यविनायक नगरपालिकामा मतदाता नामावली सङ्कलन गरिने भएको जिल्ला निर्वाचन अधिकारी कृष्णबहादुर कुँवरले जानकारी दिए।

जिल्लामा दुई चरणमा गरिने नामावली सङ्कलनका क्रममा दोस्रो चरणमा चाँगुनारायण नगरपालिकामा पुस ३ गतेदेखि १६ गतेसम्म नामावली सङ्कलन गरिने उनले जानकारी दिए ।

भक्तपुर नगरपालिकाको हकमा भने जिल्ला प्रशासन कार्यालय र जिल्ला निर्वाचन कार्यालयबाटै नामावली सङ्कलन गरिने भएकाले नगरपालिकामा टोली नखटाइने उनले बताए।

जिल्ला प्रशासन कार्यालय र निर्वाचन कार्यालय रहेको पालिकाको हकमा भने टोली नखटाई नियमित रुपमा दुई कार्यालयबाटै नामावली सङ्कलन गरिने देशव्यापी व्यवस्था निर्वाचन आयोगले गरेकाले भक्तपुर नगरपालिकामा टोली नखटाइने तर दुई वटै कार्यालयबाट नामावली सङ्कलन भने गरिने उनले जानकारी दिए ।

कार्यालयबाट नियमित रुपमा हुँदै आएको फोटोसहितको मतदाता नामावली सङ्कलन कार्यलाई पनि जारी राख्दै पालिकामा स्थानीय स्तरमै टोली खटाएर नामावली सङ्कलन गरिने भएको हो ।

भक्तपुरमा बसोबास गर्ने तर मतदाता नामावली भने आफ्नै स्थायी ठेगाना भएको जिल्लामा राख्न चाहनेले पनि नामावली सङ्कलन गर्न सक्नेछन् । भक्तपुर बसोबास गर्ने अरु जिल्लाका बासिन्दाले पनि यहीँबाट सम्बन्धित जिल्लाका लागि नामावली सङ्कलन गर्न सक्नेछन् ।

कार्यालयले मध्यपुरथिमि, सूर्यविनायक र चाँगुनारायण नगरपालिकामा तीन जना सम्बन्धित पालिकाले उपलब्ध गराएको कर्मचारी र एक जना निर्वाचन कार्यालयबाट गरी एउटा टोलीमा चार जना कर्मचारी खटिने व्यवस्था गरेको प्रमुख कुँवरले जानकारी दिए ।

नामावली सङ्कलन गर्ने टोली भने सम्बन्धित नगरपालिकामा बस्ने भएकाले वडावासी नामावली सङ्कलन गर्न आफ्नो नगरपालिका कार्यालयमा जानु पर्नेछ ।

निर्वाचन कार्यालयका सूचना अधिकारी भीमबहादुर जिसीले अन्य जिल्लाका बासिन्दाले नामावली सङ्कलन गर्नुपरेमा, मतदाता नामावली सार्नु परेमा वा मतदाता नामावलीमा भएको त्रुटि सच्याउनु परेमा पनि यहीँबाट हुने जानकारी दिए ।

मतदाता नामावली सङ्कलनका क्रममा नागरिकताको सक्कल र फोटोकपी लिएर आउन र नागरिकतामा स्थायी ठेगाना अन्य जिल्लाको भएमा बसाइसराइ प्रमाणपत्र वा विवाह भइआएको अवस्थामा विवाह दर्ता प्रमाणपत्र अनिवार्य लिएर आउन उनले आग्रह गरे ।

कार्यालयका सूचना अधिकारी जिसीका अनुसार भक्तपुरमा २०७७ पुस ५ गते १८ वर्ष उमेर पुगेका एक लाख ८४ हजार ३७१ मतदाता रहेका छन् ।

जस अन्तर्गत भक्तपुर नगरपालिकामा ५६ हजार ५२६, सूर्यविनायक नगरपालिकामा ४५ हजार ६९२, मध्यपुरथिमि नगरपालिकामा ४० हजार ९४५ र चाँगुनारायण नगरपालिकामा ४१ हजार २०८ मतदाता रहेको उनले जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस