गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र र प्रधानसेनापति शर्माबिच भेटवार्ता « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र र प्रधानसेनापति शर्माबिच भेटवार्ता


१३ मंसिर २०७८, सोमबार


गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल र प्रधानसेनापति प्रभुराम शर्माका बिच आइतबार भेटवार्ता सम्पन्न भएको छ ।

मुख्यमन्त्री कार्यालयमै भएको भेटमा मुलुकको शान्ति सुरक्षा र समसामयिक विषयमा कुराकानी भएको जनाइएको छ ।

सो अवसरमा मुख्यमन्त्री पोखरेलले मुलुकका हितमा नेपाली सेनाले निर्वाह गर्दै आएको भूमिकाको प्रशंसा गर्दै आगामी दिनमा समेत यसले निरन्तरता पाउने विश्वास व्यक्त गरे ।

कोरोना काल, प्राकृतिक विपत्तिका समय नेपाली सेना अग्रपङ्क्तिमा खटिएको जनाउँदै उनले सीमित स्रोत र साधनका बिच सेनाले नागरिकका सेवामा खटिएको स्मरण गरेको मुख्यमन्त्री कार्यालयले जनाएको छ ।

सो अवसरमा प्रधानसेनापति शर्माले सेना राष्ट्र हित , विकास निर्माणका साथै मुलुकलाई चाहिएका खण्डमा हरदम सेवामा तत्पर रहेको बताए ।

उनले आफूले जिम्मेवारी लिएपछि सबै प्रदेशको वस्तुस्थिति बुझ्नका लागि भ्रमण थालेको जानकारी दिए । विपत्तिका समयमा सहरमा खाली स्थान चाहिने भएकाले अहिलेको विमानस्थलको जमिन बचाइराख्नुपर्ने उनको सुझाव छ ।

आइतबार मनाङ हुँदै पोखरा आएको उनले प्रदेश प्रमुख पृथ्वीमान गुरुङसँग पनि भेट गरेका थिए ।

उक्त अवसरमा गण्डकी प्रदेशका प्रमुख सचिव रविलाल पन्थले प्रदेश सरकार र सुरक्षा निकायबिचको सम्बन्धका बारेमा जानकारी गराए । भेटमा बिना विभागीय मन्त्री दोबाटे विक, प्रदेशसभा सदस्य प्रकाशचन्द्र दवाडी, नेपाली सेना पश्चिम कमान्ड प्रमुख उपरथी बाबुराम श्रेष्ठलगायतको उपस्थिति थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस