देशलाई निकास दिन वैकल्पिक शक्ति आवश्यक छ : भट्टराई « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

देशलाई निकास दिन वैकल्पिक शक्ति आवश्यक छ : भट्टराई


१२ मंसिर २०७८, आइतबार


रुपन्देही । जनता समाजवादी पार्टी नेपालका सङ्घीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले राष्ट्रिय एकता कायम गरी मुलुकलाई दिगो शान्ति र रुपान्तरणको दिशामा अघि बढाउन आवश्यक रहेको बताएका छन् ।

जनता समाजवादी पार्टी रुपन्देहीले आज बुटवलमा आयोजित पत्रकार भेटघाटमा उनले देशको समृद्धि र जनताको जीवन परिवर्तनका लागि वैकल्पिक शक्ति निर्माण गर्नु अहिलेको आवश्यकता रहेको बताउँदै केन्द्रीय समाजवादी शक्ति निर्माण गर्न सके मात्रै देशले निकास पाउनेमा जोड दिए।

मुलुकमा आर्थिक, सामाजिक र संस्कृति परिवर्तन हुन नसक्दा जनतामा निराशा र अन्योल छाएको उल्लेख गर्दै उनले राजनीतिक शक्तिबीचमा नयाँ ढङ्गले एकता कायम गरी अगाडि बढ्नु नै उत्तम विकल्प हुने भनाइ राखे ।

‘सामान्य लोकतान्त्रिक मूल्य, मान्यता स्खलित हुँदै छन्, सत्ता स्वार्थलाई केन्द्रमा राखेर राजनीति गर्ने काम भयो । यसरी देशले निकास पाउँदैन । अदालतमा देखिएको सङ्कट यसैको उदाहरण हो’, अध्यक्ष भट्टराईले भने ।

पुराना राजनीतिक शक्तिले आफ्ना डम्फु बजाउँदै हावाको बाल्कोनीमा बसेको टिप्पणी गर्दै उनले पुराना राजनीतिक शक्तिले नै जनतालाई वैचारिक भ्रम छर्ने काम गरेको बताए ।

अध्यक्ष भट्टराईले महान् क्रान्तिबाट आएका नेताहरूले नै बाटो बिराउँदा देश गलत दिशामा अघि बढेको जनाउँदै एकता र सार्वभौमसत्ता रक्षाका लागि नयाँ समाजवादको मोडल आवश्यक रहेकामा जोड दिए ।

‘काँग्रेस जति पटक सत्तामा पुगे पनि परिवर्तनको अपेक्षा गर्न सकिँदैन, मुलुक परिवर्तनका लागि अग्रगामी शक्ति आवश्यक छ’, उनले भने ।

पार्टीका वरिष्ठ नेता अशोक राईले जनताको जीवनस्तर परिवर्तनका लागि पार्टीले चार महिने सङ्गठन सुदृढीकरण अभियान सञ्चालन गरेको बताए । जन वर्गीय सङ्गठन विस्तार र विभिन्न धारबाट आएका समूहका अलग बुझाइ चिर्न र जनता जागरुक गर्न अभियान थालिएको उनको भनाइ छ ।

मङ्सिरसम्म सञ्चालन हुने अभियानमा जनताका माझमा आफ्ना विचार प्रस्तुत गर्ने र जनताका विचार बुझ्ने काम भइरहेको नेता राईले बताए।

Tags :
प्रतिक्रिया दिनुहोस