कैलाली । नेपाली काँग्रेस कैलालीको आज गर्ने भनिएको जिल्ला अधिवेशन स्थगित भएको छ ।
पार्टीका जिल्ला सभापति नरनारायण शाहले कैलालीको धनगढीमा पार्टीको सुदूरपश्चिम प्रदेश अधिवेशन गर्नुपर्ने समय आइसकेको र जिल्ला अधिवेशन गर्न समय अपुग हुने देखिएकोले हाललाई अर्को सूचना जारी नहुँदासम्म स्थगित गरिएको बताए ।
धनगढीमा यही मङ्सिर १६ र १७ गते प्रदेश अधिवेशनको तयारी गरिएको छ। प्रदेश अधिवेशन गर्ने जिम्मा कैलाली काँग्रेसलाई दिइएको छ। जिल्ला अधिवेशन केन्द्रीय महाअधिवेशनपछि मात्र गर्ने तयारी गरिएको जनाइएको छ।
जिल्लामा काँग्रेसको वडा, पालिका, प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन क्षेत्र तहको अधिवेशन चरणबद्ध रूपमा सम्पन्न भइसकेको छ। जिल्ला सभापतिका आकाङ्क्षी वर्तमान उपसभापति प्रकाश बम, धनगढी उपमहानगरका प्रमुख नृपबहादुर ओड, पूर्व उपसभापति नारायणदत्त भट्ट, गणेश देउवा, युवा नेता भीम बडुवाल र खेमराज चौधरी काँग्रेसको केन्द्रीय महाअधिवेशन प्रतिनिधिमा निर्वाचित भइसकेका छन्।
नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेश समितिको सभापतिमा हिमबहादुर रावलले उम्मेदवारी घोषणा गरेका छन्। रावल कैलाली निर्वाचन क्षेत्र नं २ मा भएको महाअधिवेशनबाट प्रतिनिधिमा निर्वाचित भएका हुन्। काँग्रेस प्रतिनिधिसभा तहको अधिवेशनसम्म आइपुग्दा पूर्व सांसद, मन्त्री, पार्टीको महाअधिवेशन र महासमिति सदस्यको जिम्मेवारीमा पुगिसकेका नेता महाअधिवेशन प्रतिनिधिको प्रतिस्पर्धामा पराजित भए।
पूर्व मन्त्री सुशीला स्वाँर, पूर्व सांसद गङ्गाबहादुर कुँवर र संविधानसभाका सदस्य बुद्धि सागर चौधरी महाअधिवेशन प्रतिनिधिमा पराजित भए। त्यस्तै महाअधिवेशन प्रतिनिधिका उम्मेदवार पार्टीका जिल्ला सचिव एवं युवा नेता पूर्ण कुँवरसहित पार्टीका जिल्ला नेता फकिरसिंह खडायत, जङ्गबहादुर साउद, वीरबहादुर हमाल, गोविन्दराज जोशी, पनि पराजित भए।
पूर्व महाअधिवेशन प्रतिनिधि द्वय डा लक्ष्मीराज पाठक र आनन्दराज जोशीलगायतका नेताले वडा तहको अधिवेशनबाटै पराजय व्यहोरेका छन्। काँग्रेसको महाअधिवेशन प्रतिनिधिका उम्मेदवार वरिष्ठ पत्रकार मनमोहन स्वाँर र उमीदप्रसाद बाग्चन्द पनि पराजित भए। नाम चलेका नेता पराजित हुँदा यसअघि त्यति चर्चामा नआएका कतिपय नेता काँग्रेसको महाअधिवेशन प्रतिनिधिमा चयन भएका छन्।