सुर्तीजन्य पदार्थका रोकथामका लागि पहल गर्छु : मन्त्री खतिवडा « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

सुर्तीजन्य पदार्थका रोकथामका लागि पहल गर्छु : मन्त्री खतिवडा


८ मंसिर २०७८, बुधबार


काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले सुर्तीजन्य पदार्थको सेवनको रोकथाम र नियन्त्रणमा पहल गरिने बताएका छन् ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद् र स्वास्थ्य पत्रकार मञ्च नेपालले संयुक्त रुपमा आज यहाँ आयोजना गरेको ‘सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन’ सम्बन्धी बहुपक्षित पैरवी बैठकका उनले कुनै उपाय अपनाएर भए पनि सुर्तीजन्य पदार्थको सेवनमा रोकथाम र नियन्त्रण गर्न पहल गरिने जानकारी दिए ।

उनले मूल्य अभिवृद्धि कर बढाएर र सुर्तीजन्य पदार्थको बट्टामा चित्र राखेर सेवनमा नियन्त्रण गर्न खोजे पनि प्रभावकारी नभएको जनाउँदै चिकित्सकले कुनै डर सिर्जना गरेर सेवनलाई निरुत्साहित गर्नुपर्ने बताए ।

उनले सुर्तीजन्य पदार्थको नियन्त्रणका लागि बनेका ऐनलाई प्रभावकारी कार्यान्वयन गर्ने जानकारी दिए ।

कार्यक्रममा स्वास्थ्य सेवा विभागका महानिर्देशक डा दीपेन्द्ररमण सिंहले सुर्तीजन्य पदार्थको रोकथाम र नियन्त्रणका लागि प्रमुख जिल्ला अधिकारीको विशेष पहलमा सुर्तीजन्य बनेका ऐन, कानूनलाई कडाइका साथ लागू गर्नुपर्ने बताए ।

परिषद्का कार्यकारी प्रमुख डा. प्रदीप ज्ञवालीले सुर्तीजन्य सेवनबाट बर्सेनि हजारौँ मानिसको अकालमा नै मृत्यु हुने गरेको बताए ।

उनले सबैको सहयोगबाट सुर्तीजन्य पदार्थको सेवन रोकथाम र नियन्त्रण गर्नुपर्ने बताए । शहीद गङ्गालाल हृदय केन्द्रका निर्देशक डा चन्द्रमणि अधिकारीले सुर्तीजन्य पदार्थको सेवनबाट धेरै नै मानिसलाई हृदयाघात हुने गरेको बताए ।

उनका अनुसार विगत १० वर्षमा हृदयाघात हुने सङ्ख्या ४६ प्रतिशतले बढेको उल्लेख गर्दै हृदयाघात हुने सबैभन्दा बढी सुर्तीजन्य पदार्थको सेवन गरेको युवा रहेको छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस