पाटन दरबारको खाली भागलाई पुरातात्त्विक बगैँचाका रूपमा अघि बढाउनु पर्छ: जोशी « प्रशासन
Logo २३ बैशाख २०८१, आइतबार
   

पाटन दरबारको खाली भागलाई पुरातात्त्विक बगैँचाका रूपमा अघि बढाउनु पर्छ: जोशी


३० कार्तिक २०७८, मंगलबार


ललितपुर । वाङ्मय शताब्दी पुरुष डा. सत्यमोहन जोशीले पाटन दरबार पछाडिको खाली भागलाई पुरातात्त्विक बगैँचाका रूपमा अघि बढाएर सो महत्त्वका वस्तुको प्रदर्शन गर्न जरुरी रहेको बताएका छन् ।

दरबार सङ्ग्रहालय विकास समितिको २४औँ वार्षिकोत्सवका अवसरमा आज उनले पाटन मूर्त तथा अमूर्त सम्पदाले भरिपूर्ण क्षेत्र रहेकाले सो बगैँचा व्यवस्थापन गरी पुरातात्त्विक वस्तुको प्रचारप्रसार गर्नुपर्ने बताए ।

उनले भने,‘सङ्ग्रहालयभित्र त्यसै थन्किएर रहेका मूर्ति तथा शिला पत्र आदिको महत्त्व दर्साउन जरुरी छ ।’ सो बगैँचा बनाउँदा छरिएर रहेका संस्कृतिको संरक्षण हुनाका साथै कला अनि पर्यटनको विकासमा टेवा पुग्ने उनको धारणा थियो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव यादवप्रसाद कोइरालाले पाटन सङ्ग्रहालय दक्षिण एसियाको महत्त्वपूर्ण क्षेत्रका रूपमा गणना भइरहँदा सो बगैँचा निर्माणका लागि गृहकार्य गरिने बताए । उनले भने, ‘यस बगैँचाको सहयोगमा अदृश्य रूपमा रहेका सम्पदाको खोजी गरी उजार गर्न सकिन्छ ।’

सङ्ग्रहालयका निमित्त कार्यकारी निर्देशक सुरेशमान लाखेले सङ्ग्रहालयभित्र प्रदर्शन नगरी थन्क्याइएका लगभग एक हजार सात सय वस्तु बगैँचाको सहयोगमा प्रदर्शन हुन पाउने बताए । हाल तीन सयभन्दा बढी वस्तु सो सङ्ग्रहालयभित्र प्रदर्शनीमा राखिएको छ । पुरातात्त्विक महत्त्वका वस्तुको उचित संरक्षण गर्नुपर्छ भन्ने उद्देश्यका साथ शताब्दी पुरुष जोशीले बगैँचाको अवधारणा अघि बताएका हुन् ।

सो अवसरमा सङ्ग्रहालयभित्र १४औँ देखि १७औँ शताब्दीसम्मका ढुङ्गाको प्रस्तरको मूर्तिसमेत प्रदर्शनी गर्नाका साथै सङ्ग्रहालयको मुख पत्र विमोचन गरिएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस