अमेरिकी विषेशदूत र तालिबान विदेश मन्त्रीबीच भेटवार्ता « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

अमेरिकी विषेशदूत र तालिबान विदेश मन्त्रीबीच भेटवार्ता


२५ कार्तिक २०७८, बिहिबार


काबुल । अफगानिस्तानका लागि अमेरिकाका विशेष दूत थोमस वेस्ट र अफगानिस्तानका विदेश मन्त्री अमिर खान मोताक्वीबीच भेटवार्ता भएको छ ।

तालिबानका शीर्ष नेता समेत रहेका खानले अमेरिकी विशेष दूतलाई पाकिस्तानको राजधानी इस्लामावादमा भेटवार्ता गरेका हुन् ।

अफगानिस्तानको तालिबान सरकारको तर्फबाट पहिलो विदेश भ्रमणका रुपमा पाकिस्तान गएका बेला उनले अमेरिकी विशेष दूतसँग छलफल गरेको जनाइएको छ ।

दुवै जना पाकिस्तानमा आयोजना गरिएको एक विशेष बैठक ‘ट्रोइका प्लस’ बैठकमा सहभागी हुन जाने क्रममा उनीहरुबीच भेटवार्ता भएको अधिकारीहरुले जनाएका छन् ।

तालिबान सरकारका प्रमुख नेता तथा विदेश मन्त्री मोताक्वी नेतृत्वको उच्चस्तरीय अफगानी टोली औपचारिक भ्रमणका लागि बुधबार बेलुका इस्लामावाद पुगेको हो ।

पाकिस्तानमा बिहीबार नै अमेरिका, चीन, रुस र पाकिस्तानका कुटनीतिज्ञहरुको बैठक आयोजना गरिएको छ । बैठक अफगानिस्तानको अवस्थाका बारेमा छलफल गर्न बोलाइएको हो ।

बैठकको अध्यक्षता पाकिस्तानका विदेशमन्त्री शाह मोहम्मद क्युरेशी र राष्ट्रिय सुरक्षा सल्लाहकार मोइद युसुफले गर्ने कार्यक्रम रहेको छ । चार देशका प्रतिनिधिहरुले अफगानिस्तानका अन्तरिम विदेश मन्त्री अमिर खान मोक्त्तावीसँग अन्तरक्रिया गर्ने भएका छन् ।

तालिबान विद्रोहीहरुले गत अगस्टमा अफगानिस्तानको सत्ता कब्जा गरेर अन्तरिम सरकार गठन गरेपछि सरकारको तर्फबाट यो नै पहिलो विदेश भ्रमण हो ।

तालिबान सरकारप्रति सहयोगी र शङ्कापूर्ण व्यवहार गर्ने दुवै प्रकारका देशका प्रतिनिधिहरु बैठकमा सहभागी भएका छन् ।

बैठकमा सहभागी मध्ये अमेरिकाले तालिबान सरकारप्रति आशङ्का व्यक्त गर्दै असहयोगको नीति लिएको छ भने चीन, रुस र पाकिस्तान तालिबान सरकारप्रति निकै सकारात्मक र सहयोगी हुँदै आएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस