बालबालिकालाई विद्यालय पठाउन अभिभावक तयार छन् ? « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

बालबालिकालाई विद्यालय पठाउन अभिभावक तयार छन् ?


२५ कार्तिक २०७८, बिहिबार


काठमाडौँ । कोरोना भाइरसको सङ्क्रमण घट्दै गएपछि भौतिक रूपमै विद्यार्थीलाई उपस्थित गराएर विद्यालय सञ्चालनको तयारी भएको छ । केही विद्यालय अहिले सञ्चालनमा पनि रहेका भने मङ्सिर पहिलो साताबाट विद्यार्थीको उपस्थितिमै पठनपाठन गर्ने गरी धेरै विद्यालयले तयारी गरेका छन् ।

विद्यालय सञ्चालनको तयारी भइरहँदा बालबालिकालाई विद्यालय पठाउन अभिभावक तयार छन् ? अहिले सञ्चालनमा रहेका विद्यालयमा स्वास्थ्य मापदण्ड पालना भएको छ ? लगायतका विषयमा प्रशासन डटकमले नेपाल अभिभावक महासङ्घका अध्यक्ष सुप्रभात भण्डारी कुराकानी गरेको छ ।

विद्यालय सञ्चालनको तयारी भइरदा बालबालिकालाई विद्यालय पठाउन अभिभावक तयार छन् ?

बालबालिकालाई कोरोना विरुद्धको खोप लगाइ सकेको अवस्था नभएकाले विशेष सावधानी अपनाएर मात्र विद्यालय खोल्नु पर्छ । कोरोना भाइरसको सङ्क्रमणको जोखिम भएका स्थान र सङ्क्रमण फैलने डर भएका स्थानमा विशेष सावधानी अपनाउनु पर्छ ।

घनावस्ती भएका क्षेत्रमा सिफ्ट प्रणालीमा विद्यालय सञ्चालन गर्नु पर्छ । धेरै विद्यार्थी भएका विद्यालयमा एकै पटक सबै विद्यार्थीहरूलाई विद्यालयमा उपस्थित गराउनु हुँदैन । आलोपालो गरेर विद्यालयमा बोलाउनु पर्छ । यसले भिडभाड कम हुन्छ । भिडभाड कम भयो भने कोरोनाको सङ्क्रमणको जोखिम पनि कम हुन्छ ।

गाउँघरका विद्यार्थी कम भएका विद्यालयहरूमा नियमित रूपमा पठनपाठन गराउन मिल्छ र सकिन्छ पनि । सरकारी आकडालाई आधारमा मान्ने हो भने एक सयभन्दा कम विद्यार्थी भएका विद्यालयको सङ्ख्या झन्डै १४ हजार रहेको छ । ती विद्यालयमा स्वास्थ्य मापदण्ड अपनाएर भौतिक उपस्थितिमै पठनपाठन गर्न सकिन्छ ।

काठमाडौँ उपत्यका लगायतका घनावस्ती भएका स्थानका विद्यालयको हकमा के गर्नुपर्छ ? विद्यालय सञ्चालन गर्न मिल्छ ?

सरकारले विद्यालयहरू सुरक्षित छन्, कोरोनाको सङ्क्रमणबाट जोगाउनका लागि स्वास्थ्य मापदण्डको पालना भएको छ, विद्यालयमा अनुगमन भएको छ, बालबालिकालाई विद्यालय पठाउनुस् भनेर अभिभावकहरूलाई आश्वस्त पार्नु पर्छ ।

अर्कोतर्फ तपाईँले घरमा राखे जस्तै सुरक्षित राखेर पढाउन सक्छौँ भनेर आश्वस्त पार्नु पर्छ । यसमा स्थानीय सरकार र विद्यालय व्यवस्थापन समितिले पनि सोही अनुसारको भूमिका निर्वाह गर्नु पर्‍यो । अहिले सञ्चालन भएका विद्यालयहरूको अनुगमन पनि हुनु पर्‍यो ।

विद्यालयमा कुनै कमीकमजोरी पाइयो भने सावधानी अपनाउनका लागि सचेत गराउनु पर्‍यो। र सुधार गर्नु पर्‍यो। राज्यको तर्फबाट अनुगमन भयो र अनुगमनको क्रममा विद्यालय सुरक्षित रहेको पाइयो भने पठनपाठन गर्न सकिन्छ । यदि असुरक्षित रहेको पाइयो भने सचेत गराएर सुधार गर्न सकिन्छ । यसले विद्यालयलाई सुरक्षित बनाउन मद्दत पुग्छ । अनि अभिभावक पनि ढुक्क हुने अवस्था बन्छ ।

अहिले सञ्चालन भएका विद्यालयहरूमा स्वास्थ्य मापदण्ड पालना भएको छ ?

विद्यार्थीमा सङ्क्रमण फैलिएको र स्थिति भयावह बनेको सूचनाहरू प्राप्त भएको छैन । तर, सबै विद्यालयमा स्वास्थ्य मापदण्ड पालना भएको पाइएको पनि छैन ।

बालबालिका स्वभावैले चञ्चले पनका हुन्छन् । मास्क लगाउने, साबुन पानीले हात धुने, भौतिक दूरी कायम गर्ने जस्ता कुरा बालबालिकाले पूर्णरुपमा पालना गरेको पाइँदैन । उनीहरूले खेल्दै गर्दा, खाजा खाँदै गर्दै पनि यी विषयमा ध्यान दिएका हुँदैनन् । यसबारेमा विद्यालयका शिक्षकहरूले नै निगरानी गर्नु पर्छ । सजग र सचेत हुनुपर्छ । यसको व्यवस्थापनको पाटो फितलो भएको पाएका छौँ ।

विद्यालयका शिक्षकहरू अझ बढी जिम्मेवार हुन आवश्यक छ । विद्यालयमा बालबालिकामा भौतिक दूरी कायम गराउने देखि उनीहरूलाई मास्क र स्यानिटाइजर उपलब्ध गराउने विषयमा विद्यालय गम्भीर हुन पर्छ ।

हामीसँग कोरोनाबाट जोगिनका लागि भौतिक दूरी कायम गर्ने, मास्क र स्यानिटाइजरको प्रयोग गर्ने बाहेक अर्को विकल्प छैन । यसलाई कार्यान्वयनमा लैजान विद्यालयमा अनुगमन हुनु पर्छ । स्थानीय तहले पनि निगरानी बढाउन जरुरी छ ।

सरकारले बालबालिकालाई खोप लगाउने तयारी गरेको छ ? यसलाई महासङ्घले कसरी लिएको छ ?

सरकारको खोप अभियान निकै सकारात्मक छ । अहिले १२ वर्षदेखि माथिका दीर्घ रोगी बालबालिकालाई लगाउने भनिएको छ । यो सह्रानीय काम हो । तर, खोप दीर्घ रोगी बालबालिका मात्रै होइन सबैलाई लगाउनु पर्छ । सोही अनुसार सरकारले छिटोभन्दा छिटो व्यवस्था मिलाउनु पर्छ । र खोपको सुनिश्चितता हुनु पर्छ ।

सरकारले युद्ध स्तरमै काम गरे पनि यो वर्ष भित्र सबैलाई लगाउन सक्ने सम्भावना छैन । हामीले भनेका छौँ कि विद्यालयमै खोप दिने व्यवस्था मिलाउनु पर्छ । १२ वर्ष मुनीका बालबालिकालाई पनि खोप ल्याउने तर्फ सरकारले प्राथमिकता दिनु पर्छ ।

Tags :
प्रतिक्रिया दिनुहोस