गायक योगेश्वर अमात्यको जग्गाको नक्कली पुर्जा बनाएर कुमारी बैङ्कबाट १९ करोड ठगी गर्ने कर्मचारीसहित चार जना पक्राउ « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

गायक योगेश्वर अमात्यको जग्गाको नक्कली पुर्जा बनाएर कुमारी बैङ्कबाट १९ करोड ठगी गर्ने कर्मचारीसहित चार जना पक्राउ


२४ कार्तिक २०७८, बुधबार


काठमाडौँ । गायक योगेश्वर अमात्यको बारास्थित जग्गाको नक्कली लालपुर्जा बनाएर १९ करोड रुपैयाँ ठगी गरेको अभियोगमा कुमारी बैङ्कका कर्मचारीसहित चार जना पक्राउ परेका छन्।

प्रहरीका अनुसार पक्राउ पर्नेमा कुमारी बैङ्क पर्सा शाखाका जुनियर असिस्टेन्ट सोनु ठाकुर, जग्गाका मूल्याङ्कनकर्ता राजेश्वर चौरसिया, मुक्तिनाथ गौतम र एसकुमार महर्जन छन्।

गौतम र महर्जन बेनियल ट्रेडिङ कम्पनी कोटेश्वरका सञ्चालक हुन्। उनीहरूमध्ये तीन जनालाई केही दिनअघि केन्द्रीय अनुसन्धान ब्युरोले काठमाडौँबाट पक्राउ गरेको थियो। चौरसियालाई भने प्रहरीले हिजो (मंगलबार) पक्राउ गरेको हो।

ब्युरोका निर्देशक प्रहरी नायब महानिरीक्षक धीरजप्रताप सिंहले अमात्यको बारामा रहेको १२ बिगाहा जग्गाको कीर्ते कागजात बनाएर १९ करोड ठगी गरेको अभियोगमा उनीहरूलाई पक्राउ गरिएको पुष्टि गरेका छन्।

कुमारी बैङ्क पर्सा शाखाका जुनियर असिस्टेन्ट ठाकुरसहितको मिलेमतोमा उक्त जग्गाको नक्कली लालपुर्जा बनाएर बैङ्कको न्यूरोड शाखाबाट रकम निकालेको पत्ता लागेपछि चार जनालाई पक्राउ गरिएको सिंहले बताए।

उनका अनुसार त्यसरी नक्कली कागजात बनाएर ऋण स्वीकृत गर्न कुमारी बैङ्कको केन्द्रीय कार्यालय नक्साललाई पनि पत्राचार गरिएको पाइएको छ।

‘सुरुमा पर्सा शाखामा निवेदन दिएको देखिन्छ, पर्सा शाखाले न्यूरोडमा फाइल पठाएको र त्यहीँबाट पैसा निकालेको देखिन्छ,’ ब्युरोका प्रहरी उपरीक्षक महतोले भने, ‘न्यूरोड शाखाले ऋण दिँदा नक्सालस्थित केन्द्रीय बैङ्कको स्वीकृति पनि लिएको देखिन्छ।’

पक्राउ परेका सबैलाई सरकारी लिखतसम्बन्धी कसुरमा अनुसन्धान थालिएको महतोले जानकारी दिए ।

गायक अमात्यले आफ्नो जग्गा कीर्ते गरेर ऋण निकालेको सन्दर्भमा एक महिनाअघि उजुरी दिएपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले अनुसन्धान सुरु गरेको थियो।

Tags :
प्रतिक्रिया दिनुहोस