काठमाडौँ । नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्र राईले प्रदेश १ को मुख्यमन्त्रीमा आज (मंगलबार) शपथ लिँदै छन् ।
मुख्यमन्त्री राईलाई दिउँसो २ बजे प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले पद तथा गोपनीयताको शपथ खुवाउने कार्यक्रम तय भएको छ।
मुख्यमन्त्रीको शपथ लिएसँगै राईले आजै सानो आकारको मन्त्रिमण्डल विस्तार गर्दै छन्। यद्यपि मन्त्रीको टुङ्गो भने लागिसकेको छैन।
‘सबै दलबाट १/१ जनाले मन्त्रीको शपथ लिने भन्ने कुरा छ। तर टुङ्गो लागिसकेको छैन’, माओवादी केन्द्रका एक नेताले बताए।
मुख्यमन्त्री भीम आचार्यले राजीनामा दिएपछि विपक्षी गठबन्धनले नयाँ सरकार बनाउन लागेको हो।
प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले सरकार गठन आह्वान गरे लगत्तै गठबन्धनमा आबद्ध दलहरूले नेकपा एकीकृत समाजवादीका नेता राईलाई मुख्यमन्त्री नियुक्त गर्न माग गर्दै प्रदेश प्रमुख समक्ष दाबी पेस गरेका थिए।