कञ्चनपुरमा १२ हजार हेक्टरको धान क्षति « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

कञ्चनपुरमा १२ हजार हेक्टरको धान क्षति


११ कार्तिक २०७८, बिहिबार


महेन्द्रनगर । यही कात्तिकको पहिलो साता आएको बाढी र डुबानका कारण कञ्चनपुरमा १२ हजार हेक्टर क्षेत्रफलमा लगाइएको धान बालीमा क्षति पुगेको अनुमान गरिएको छ ।

कृषि ज्ञान केन्द्रका प्रमुख डा. दिलबहादुर विष्टले बाढी र डुबानका कारण १२ देखि १३ हजार हेक्टर क्षेत्रफलमा लगाइएको धानबाली क्षति पुगेको बताए ।

‘अहिले वडा स्तरबाट क्षतिको विवरण सङ्कलन गर्ने कार्य भइरहेको छ’, उनले भने, ‘डुबानले सबैभन्दा बढी क्षति यहाँको दक्षिणी क्षेत्र, शुक्लाफाँटा, बेदकोट र दोधारा चाँदनी नगरपालिकातिर भएको देखिन्छ ।’ कञ्चनपुरमा ४८ हजार हेक्टरमा धानखेती गरिँदै आएको छ ।

ज्ञान केन्द्रले दिएको जानकारीअनुसार बाढी र डुबानका कारण उखु तथा केरा खेतीमा दश प्रतिशत र तरकारीमा पाँच प्रतिशत क्षति भएको छ । धानखेती भित्र्याउने बेला आएको वर्षाका कारण खेतमा सुकाइएको धानबाला टुसाउन थालेका छन् ।

किसानले घरमा कुन्यू बनाएर राखेको धानसमेत नोक्सान भएको ज्ञान केन्द्रका प्रमुख विष्टको भनाइ छ ।

किसानलाई भने यस वर्ष चामल किनेर खानुपर्ने अवस्थामा आएको भन्दै चिन्तन छ । यहाँको शुक्लाफाँटा नगरपालिका–१२ का किसान राधे रानाले आफ्नो दुई बिघा खेतमा लगाइएको धानबाली भित्र्याउने बेला आएको बर्सातले क्षति पुगेको बताए ।

‘परिवारलाई वर्षभरि खानलाई हुन्छ भनेर अरुको खेतसमेत भाडामा लिएर धान लगाएको थिएँ’, रानाले भने, ‘बाली काटेर थ्रेसर लगाउभन्दा एक्कासि खेतमै धान डुबेर काम नलाग्ने भयो ।’ कैलाली र कञ्चनपुरमा यस वर्ष सबैभन्दा बढी क्षति धानबालीमै भएको छ । ज्ञान केन्द्रले दुई/तीन दिनभित्र क्षतिको यकिन विवरण आउने जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस