करिब ६ सय पालिकामा एमालेको एकै दिन अधिवेशन « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

करिब ६ सय पालिकामा एमालेको एकै दिन अधिवेशन


१० कार्तिक २०७८, बुधबार


काठमाडौँ । करिब ६ हजार वडामा अधिवेशन गरेको तीन दिनपछि हिजो (मंगलबार) एमालेले पालिका अधिवेशन सुरु गरेको छ ।

केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङका अनुसार हिजो (मंगलबार) करिब ६ सय पालिकामा अधिवेशनको प्रक्रिया सुरु भएको छ । तीमध्ये केही ठाउँमा सर्वसम्मत नेतृत्व चयन भइसकेको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी केन्द्रीय कार्यालय थापाथलीबाट देशैभरका पालिका अधिवेशनको भर्चुअल उद्घाटन गरेका थिए । त्यस क्रममा उनले उन्नत स्तरको समझदारीका साथ अधिवेशन हुने विश्वास व्यक्त गरेका थिए ।

कार्यालय सचिव तामाङले बाढीबाट प्रभावित करिब डेढ सय पालिकामा अधिवेशन हुन नसकेको जानकारी दिए ।

अधिवेशन हुन नसकेका वडा र पालिकामा छिट्टै अधिवेशन हुने उनले बताए । ‘मंगलबार साँझसम्मको रिपोर्टअनुसार करिब एक सय पालिकाले नेतृत्व सर्वसम्मत चयन गरेको छ । केही ठाउँमा सर्वसम्मत गराउने प्रयास भइरहेको छ । अन्यमा मतदान नै हुने भएको छ ।’

एमालेको विधानअनुसार महानगरमा १ सय १ सदस्यीय, उपमहानगरमा ८५ सदस्यीय तथा गाउँपालिका र नगरपालिकामा ७५ सदस्यीय कमिटी रहनेछन् । एमालेले मंसिर १०–१२ मा चितवनमा १० औँ महाधिवेशन गर्ने निर्णय गरेको छ ।

एमालेले महाधिवेशनका लागि प्रतिनिधि चयन गर्न २०७७ चैत मसान्तसम्म सङ्गठित सदस्य बनेका र नवीकरण गरेका सदस्यहरू योग्य रहने मापदण्ड बनाएको छ ।

प्रतिनिधि चयनसम्बन्धी मापदण्ड तय गर्ने लगायतका विषयमा छलफल गर्न कात्तिक ११ मा स्थायी कमिटी र कात्तिक १२ मा केन्द्रीय कमिटी बैठक बोलाइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस