मङ्सिरदेखि बिजुलीको नयाँ दर लागु हुने « प्रशासन
Logo ८ जेष्ठ २०८१, मंगलबार
   

मङ्सिरदेखि बिजुलीको नयाँ दर लागु हुने


१० कार्तिक २०७८, बुधबार


काठमाडौँ । मङ्सिर १ गतेदेखि बिजुलीको नयाँ महसुल दर लागु हुने भएको छ ।

विद्युत् महसुल निर्धारण आयोगले नयाँ दर स्वीकृत गरिसकेको र आज (बुधवार) पत्रकार सम्मेलन गरी सार्वजनिक गर्ने तयारी गरेको छ ।

ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालले हिजो (मंगलबार) आयोजित एक कार्यक्रममा पनि मङ्सिरदेखि नयाँ दर लागु हुने जानकारी दिएकी छन् ।

मङ्सिर १ देखि सस्तो दरमा बिजुली दिँदै छौँ, उनले भनिन्, ‘यो महसुलले साना तथा ठुला विद्युतीय सवारी चलाउनदेखि घरायसी खपतलाई बिजुली सस्तो बनाएको छ ।’ उनले सरकारले साझा यातायातमार्फत ठुला विद्युतीय सवारी सञ्चालन गर्न खोजिरहेको पनि जानकारी दिइन् ।

उनले नेपालले जलवायु परिवर्तनका असरहरू न्यूनीकरण गर्न स्वच्छ ऊर्जा प्रवर्द्धनमा विशेष ध्यान दिनुपर्ने बताइन् ।

पछिल्लो समय असामयिक वर्षा र बाढीका कारण ठुलो जनधनको क्षति बेहोर्नु परेको र ती पनि जलवायु परिवर्तनका असर रहेको भन्दै मन्त्री भुसालले यसको न्यूनीकरणमा सबै पक्ष संवेदनशील हुनु पर्ने औँल्याइन् ।

विद्युतीय तीन पाङ्ग्रे सवारी साधन ट्रियो मोटर्सको अनावरणका सिलसिलामा उनले यातायात, भान्सा, सिँचाइ तथा उद्योगहरूमा स्वच्छ ऊर्जाको बिजुलीको खपत बढाउने गरी आफूले प्राथमिकतासहित काम गरेको बताइन्।

भान्सामा विद्युतीय चुलो, सडकमा विद्युतीय सवारी साधन, सिँचाइमा सहुलीयतपूर्ण दरको बिजुली उद्योगहरूलाई चाहिए जति बिजुली दिन आफूले विशेष चासो दिएर विद्युत् महसुल सस्तो बनाउने र खपत प्रवर्द्धन गर्ने काम गरेको उनको भनाइ थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस