काठमाडौँ । उपराष्ट्रपति नन्दबहादूर पुनले लोपोन्मुख संस्कृति खोजी गरेर त्यसको संरक्षण गर्नुपर्ने बताएका छन् ।
लोकवार्ता परिषद् नेपालको १०औँ सम्मेलनको सन्दर्भमा नेपाल प्रज्ञा प्रतिष्ठान र लोकवार्ता परिषद्ले आज आयोजना गरेको ‘लोकवार्ता विमर्श तथा पुस्तक विमोचन कार्यक्रम’ मा उपराष्ट्रपति पुनले सबै पक्ष मिलेर लोक संस्कृतिको अध्ययन र अनुसन्धानमा लाग्नुपर्नेमा जोड दिए । नेपालमा विभिन्न जाती, भाषा र संस्कृति रहेको भन्दै उहाँले विविधताको खोजी गर्नुपर्ने औँल्याए ।
सबैको अस्तित्व जोगाउँदा नै नेपालको अस्तित्व रहने भन्दै उपराष्ट्रपति पुनले भने, ‘सबै मिलेर संस्कृतिको खोज र अनुसन्धानमा लाग्नुपर्छ ।’ परिषद्ले वर्षेनी संस्कृतिसम्बन्धी पुस्तक प्रकाशन गर्नु महत्वपूर्ण काम भएको उनको भनाइ थियो । पुस्तक प्रकाशनले निरन्तरता पाउनुपर्ने तथा त्यसका लागि परिषद्लाई सहयोग गर्नु सरकारको जिम्मेवारी भएको उपराष्ट्रपति पुनले उल्लेख गरे ।
प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीेले प्रतिष्ठानका विभिन्न विभागमध्ये लोकवार्ता र बाल साहित्य विभागले जातजाति, भाषाभाषी र धर्मावलम्बीको संस्कृतिको क्षेत्रमा काम गरिरहको उल्लेख गरे । प्रतिष्ठान र परिषद् बाहिर हेर्दा फरकफरक देखिए पनि कामका हिसाबले एउटै भएको उनले बताए ।
सम्मानित व्यक्ति बमकुमारी बुढाले रोल्पा मगर सभ्यता र रितिरिवाजको भण्डार भएको बताए । प्रतिष्ठान र परिषद्को सहयोगमा यसबारे अध्ययन अनुसन्धान अघि बढाउनुपर्ने उनको भनाइ थियो । सो अवसरमा उपराष्ट्रपति पुनले लोक संस्कृतिसम्बन्धी ६ पुस्तक लोकार्पण गरेका थिए । कार्यक्रममा परिषद्ले बुढासँगै राज्यश्री श्रेष्ठलाई सम्मान गरेको थियो ।