गुल्मीका ७ वडामा एमालेको अधिवेशन हुन बाँकी « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

गुल्मीका ७ वडामा एमालेको अधिवेशन हुन बाँकी


८ कार्तिक २०७८, सोमबार


गुल्मी । गुल्मीका ७ वटा वडामा नेकपा (एमाले)को अधिवेशन भएको छैन ।

जिल्लाका ९३ वडाहरू मध्ये ७ वटा वडामा वडा अधिवेशन हुन नसकेको नेकपा (एमाले) गुल्मीका उपसचिव धर्म विश्वकर्माले जानकारी दिए ।

वडा अधिवेशन हुन बाँकी रहेका वडाहरुमा मालिका गाउँपालिका, मदाने गाउँपालिका, धुर्कोट गाउँपालिका र सत्यवति गाउँपालिकाका केही वडामा अधिवेशन हुन बाँकी रहेको बिश्वकर्माले बताए । बाँकी रहेका वडाहरूमा पनि छिट्टै नयाँ नेतृत्व चयन हुने उनको भनाइ छ ।

सम्पन्न भएका वडाहरूमा सर्बसहमतिमा नेतृत्व चयन गरिएको एमाले केन्द्रीय सदस्य एवम् गुल्मी जिल्ला इन्चार्ज दिनेश पन्थीले बताए । वडा अधिवेशनबाट आगामी दुई वर्षका लागि ३१ जनाको कमिटी निर्वाचित भएका छन् ।

कार्यसमितिमा अध्यक्ष, उपाध्यक्ष, सचिव र दुई जना उपसचिव गरी पाँच सदस्यीय पदाधिकारी निर्वाचित भएका हुन् । वडा अधिवेशनमा पाँच जना सङ्गठित सदस्य बराबर एक जना गाउँ नगर प्रतिनिधि बन्न पाइने व्यवस्था रहेको छ ।

त्यस्तै दलित / महिला / जनजातिको हकमा तीन जना सङ्गठित सदस्य बराबर एक जना प्रतिनिधि बन्न पाइने व्यवस्था रहेको उपसचिव विश्वकर्माले बताए । निर्वाचनको केन्द्रीय तालिका अनुसार कात्तिक ९ गते गाउँ, नगरपालिका अधिवेशन सम्पन्न हुँदै छ ।

त्यसको लागि सोमबार प्रतिनिधिको नामावली र निर्वाचन अधिकृत तोकिने विश्वकर्माले बताए । अधिवेशनका लागि एमालेका जिल्ला भर १० हजार १९५ जना सङ्गठित सदस्य छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस