देशभरका बालबालिकालाई आज र भोलि भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

देशभरका बालबालिकालाई आज र भोलि भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै


७ कार्तिक २०७८, आइतबार


काठमाडौँ । ६ महिनादेखि ५९ महिनाका करिब २७ लाख बालबालिकालाई आज (आइतबार) र भोलि (सोमबार) भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ‘राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम अन्तर्गत छ महिनादेखि ५९ महिना उमेर समूहका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाउने छ ।

सधैँ कात्तिक ३ र ४ गते भिटामिन ‘ए’ खुवाउँदै आएकोमा यस वर्ष दसैँ परेकाले कात्तिक ७ र ८ गते खुवाउन लागिएको हो ।

स्वास्थ्य सेवा विभागको पोषण शाखाले दिएको जानकारीअनुसार भिटामिन ‘ए’ छ महिनादेखि ११ महिनासम्मका बालबालिकालाई एक लाख युनिट र १२ देखि ५९ महिनासम्मका बालबालिकालाई दुई लाख युनिट खुवाइने छ ।

सोही अवसरमा १२ महिनादेखि ५९ महिनासम्मका बालबालिकालाई जुकाको औषधिसमेत खुवाइने छ ।

२०० मिलिग्राम एकदेखि दुई वर्षका बालबालिकालाई र ४०० मिलिग्राम दुईदेखि पाँच वर्षसम्मका बालबालिकालाई अल्वेन्डाजोल (जुका) को औषधि खुवाइने छ ।

पोषण शाखा प्रमुख पराजुलीले ‘राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमका लागि भिटामिन ‘ए’ क्याप्सुल ३० लाख क्याप्सुल र अल्वेन्डाजोल २५ लाख ट्याब्लेट वितरण गरिने छ । जुकाको औषधि २४ लाख बालबालिकाले खाने छन् ।

छ महिनादेखि ५९ महिनासम्मका बालबालिकामा हुनसक्ने स्वास्थ्य जटिलता तथा कुपोषणको जोखिम न्यूनीकरण गर्नका लागि सरकारले विसं २०५० बाट भिटामिन ‘ए’ कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

जुकाको औषधि विसं २०५६ बाट खुवाउन थालिएको हो । ‘राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम सञ्चालनका लागि २५ हजार स्वास्थ्यकर्मी र ५२ हजार महिला स्वास्थ्य स्वयंसेविका परिचालित हुनेछन् ।

मन्त्रालयले भिटामिन ‘ए’ खुवाउन लैजाँदा अभिभावकलाई कोरोना भाइरसको सङ्क्रमणबाट जोगिन जनस्वास्थ्यका मापदण्ड पालना गर्न आग्रह गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस