सिके राउतका कार्यकर्ताद्वारा खानेपानी संस्थानका प्रमुखमाथि दुर्व्यवहार, १३ जना पक्राउ « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

सिके राउतका कार्यकर्ताद्वारा खानेपानी संस्थानका प्रमुखमाथि दुर्व्यवहार, १३ जना पक्राउ


४ कार्तिक २०७८, बिहिबार



धनुषा । सीके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताले जनकपुरधामस्थित खानेपानी तथा ढल व्यवस्थापन कार्यालयका निमित्त प्रमुखलाई दुर्व्‍यवहार गरेका छन् ।

बिहीबार लाठी र बाँसको भाटासहित कार्यालय पुगेका जनमत कार्यकर्ताले निमित्त प्रमुख राजेश कुशवाहलाई नियन्त्रणमा लिएर जनकपुरधाम उपमहानगरपालिकासम्म पैदल हिँडाएका हुन् ।

उनीहरुले कुशवाहको शरीरमा हिलो छ्याप्नुका साथै सर्टसमेत च्यातेका छन् । कार्यालय प्रमुख कुशवाहालाई दुव्र्यबहार गर्ने जनमत पार्टीका १३ जना भन्दा बढी कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ । यसैबीच आफ्ना कार्यकर्तालाई पक्राउ गरेको भन्दै अन्य नेता कार्यकर्ता जिल्ला प्रहरी कार्यालय अगाडि धर्नामा बसेका छन् ।

जनकपुरधाममा जथाभावी तरिकाले सडक खनेको महिनौं बितिसक्दा पनि निर्माण अगाडि नबढाएको भन्दै जनमत पार्टीका कार्यकर्ताले पटक–पटक प्रदर्शन गर्दै आएका छन् ।

खनिएको खाल्डो त्यसै छाडिएको छ भने निर्माण अघि नबढाएको विषयमा उपमहानगरपालिका र खानेपानी तथा ढल निकास कार्यालयले एक अर्कालाई दोष दिने गरेका छन् ।

जनमत पार्टीका नेता कार्यकर्ताहरुले प्रदेश सरकार र जनकपुरधाम उपमहानगरपालिकाका नगर प्रमुख लालकिशोर साह विरुद्ध चर्को नारावाजी समेत गरेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस