गोरखा । गोरखाको आरुघाट गाउँपालिका-१ माझगाउँमा हिजो (बुधवार) राति साढे ११ बजे मिनी ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
ट्रकमा सवार अन्य दुई जना घाइते भएका छन् ।
मृत्यु हुनेमा धादिङको गंगाजमुना गाउँपालिकाका मनोज श्रेष्ठ रहेको प्रहरीले जनाएको छ ।
घाइते आरुघाट गाउँपालिकाका राजकुमार गुरुङ र दिव्या गुरुङको आरुचनौटे स्वास्थ्य चौकीमा उपचार भइरहेको छ ।
राजकुमारको अवस्था सामान्य रहे पनि दिव्याको अवस्था चिन्ताजनक रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखाले जनाएको छ ।
आरुघाटबाट धुन्चेततर्फ बालुवा लिएर जाँदै गरेको बा५ख १२३१ नम्बरको ट्रक अनियन्त्रित भई सडकबाट करिब १५० मिटर तल खसेको हो ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।