हुम्लामा महिना दिनदेखि टेलिफोन सेवा अवरुद्ध « प्रशासन
Logo ८ चैत्र २०७९, बुधबार
   

हुम्लामा महिना दिनदेखि टेलिफोन सेवा अवरुद्ध


२४ आश्विन २०७८, आइतबार


सिमकोट । हिमाली जिल्ला हुम्लाको सिमकोट गाउँपालिका–३ मा रहेको नमस्ते टेलिफोन सेवाले एक महिनादेखि काम गर्न छाडेको छ ।

नेपालीहरुको महान् पर्व दसैँ र तिहारको मुखमा टेलिफोन सेवाले काम नगर्दा सेवाग्राही सञ्चार सेवा उपभोग गर्नबाट वञ्चित हुनाका साथै दसैँको शुभकामना आदानप्रदान गर्नसमेत नपाएको गुनासो गर्न थालेका छन् ।

एक महिनादेखि टेलिफोनको टावरले काम नगर्दा सिमकोट गाउँपालिका–१ देखि ३ र खार्पुनाथ गाउँपालिका–५ को ताक्ला, बाम्टा र कुम्लिक गाउँका सेवाग्राहीमा सञ्चार आदान–प्रदानमा प्रत्यक्ष असर परेको छ ।

गत भदौ महिनाको २२ गतेदेखि हेल्दुङ साना जलविद्युत् आयोजनाबाट वितरित विद्युत् सेवा अवरुद्ध भएकाले वडा नं ३ बरगाउँमा रहेको नमस्तेको टावरले काम गर्न छाडेको स्थानीयवासी हेमन्त बोहराले बताए ।

लगातार एक महिनादेखि टेलिफोनले काम गर्न छाडेकाले दुई वटा गाउँपालिकाका हजारौँ सेवाग्राही सञ्चारको मारमा पर्दै आएको उनको गुनासो थियो । दसैँको मुखमा एक अर्कालाई शुभकामना आदानप्रदान गर्नसमेत नसकिएको बोहराले बताए।

बरगाउँमा रहेको टावरमा विद्युत् जोडिएका कारण विद्युत् आएमा टावर आउने नत्र काम नगर्ने स्थानीयवासीको भनाइ थियो। उनीहरूले सो टावरमा विद्युत् जडानको भर गर्नुभन्दा सौर्य ऊर्जा जोडेर टावर सञ्चालनमा ल्याउन सरोकार निकायलाई अनुरोधसमेत गरेका छन् ।

उक्त नेटवर्कको क्षमता बढाउन र निरन्तर सञ्चालनका लागि टेलिकम कार्यालय लागिपरेको टेलिकम स्रोतले जनाएको छ । हाल जिल्लामा सेवाग्राही सञ्चार क्षेत्रबाट वञ्चित नहुन् भन्दै जेनेरेटर चलाएर पनि केही सेवा उपलब्ध गराउँदै आइएको टेलिकमले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस