साफ च्याम्पियनसिपमा आज नेपाल र भारतबिच प्रतिस्पर्धा « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

साफ च्याम्पियनसिपमा आज नेपाल र भारतबिच प्रतिस्पर्धा


२४ आश्विन २०७८, आइतबार


काठमाडौँ । साफ च्याम्पियनसिप २०२१ मा आज नेपालले भारतसँग प्रतिस्पर्धा गर्दै छ ।

खेल माल्दिभ्सको राष्ट्रिय रङ्गशालामा नेपाली समयअनुसार राति ९: ४५ बजे सुरु हुनेछ।

माल्दिभ्समा जारी प्रतियोगितामा दुवै टिमले सुरुवाती दुई खेल खेलिसकेका छन्।

नेपालले खेलेका दुवै खेलमा जित हात पारेको छ। पहिलो खेलमा आयोजक माल्दिभ्समाथि १-० को जित निकाल्दै नेपालले प्रतियोगितामा सुखद सुरुवात गरेको थियो।

दोस्रो खेलमा नेपालले श्रीलङ्कामाथि ३-२ को जित हात पार्‍यो। नेपाल ६ अङ्कसहित अङ्क तालिकाको शीर्ष स्थानमा छ।

यता भारतले भने सुरुवाती दुई खेलमा जित निकाल्न सकेको छैन। पहिलो खेलमा १० खेलाडीमा सीमित बनेको बङ्गलादेशले भारतलाई १(१ गोलको बराबरीमा रोकेको थियो। दोस्रो खेलमा भारतलाई श्रीलङ्काले गोलरहित बराबरीमा रोक्न सफल भयो।

२ अङ्क जोडेको भारत अङ्क तालिकाको चौथो स्थानमा छ।

भारतविरुद्धको आजको खेलमा जित हात पार्न सके नेपाल फाइनल पुग्नेछ। नेपालविरुद्ध हारेको अवस्थामा भने भारतको फाइनल यात्रा कठिन बन्न सक्छ।

भारत साफको सात पटकको च्याम्पियन भएकाले भारतविरुद्ध खेल्न कठिन हुने नेपालका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले बताएका छन्। तर उनले भारतविरुद्ध उत्कृष्ट खेल्ने अपेक्षा राखेको बताएका छन्।

नेपाल र भारतबीच गत महिना दशरथ रङ्गशालामा दुई मैत्रीपूर्ण खेल भएका थिए। पहिलो खेलमा १-१ गोलको बराबरीमा सकिदा दोस्रो खेलमा भारतले २-१ ले जित निकालेको थियो।

नेपाल र भारतबीच अहिलेसम्म २१ पटक प्रतिस्पर्धा भएको छ। जसमा नेपाल २ खेलमा मात्र विजयी भएको छ। ५ खेल बराबरीमा सकिएका छन् भने १४ खेलमा नेपाल पराजित भएको छ।

नेपालले भारतलाई सन् २०१३ देखि हराउन सकेको छैन। सन् २०१३ मा नेपालमा भएको साफमा नेपालले भारतलाई २-१ ले पराजित गरेको थियो। त्यसयता भारतविरुद्ध खेलेका ७ मध्ये नेपाल ५ खेलमा पराजित भएको छ भने २ खेल बराबरीमा सकिएका छन्।

Tags :
प्रतिक्रिया दिनुहोस