उपत्यकाबाट चोरी तथा पाकेटमार कार्यमा सङ्लग्न २०७ जना पक्राउ « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

उपत्यकाबाट चोरी तथा पाकेटमार कार्यमा सङ्लग्न २०७ जना पक्राउ


१८ आश्विन २०७८, सोमबार


काठमाडौँ । नेपाल प्रहरीले चोरी तथा पाकेटमार कार्यमा सङ्लग्न २०७ जनालाई पक्राउ गरेको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौँले चाडपर्वमा हुनसक्ने चोरी र पाकेटमारको विरुद्धमा चलाएको अभियानमा उपत्यकाका विभिन्न स्थानबाट उनीहरुलाई पक्राउ गरेको हो । परिसरले आज पत्रकार सम्मेलन गरी सार्वजनिक यातायात, सपिङ मल र मुख्य बजारमा चलाएको अभियानमा चोरी र पाकेटमार कार्यमा सङ्लग्नलाई पक्राउ गरेको जानकारी दिएको हो ।

पत्रकार सम्मेलनमा परिसरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक अशोक सिंहले उपत्यकाको सुरक्षा व्यवस्थालाई त्रुटीरहित, भरपर्दौ, विश्वसनीय र मजबुद बनाउन साथै नजिकिँदो चाडपर्वमा हुने लुटपाट र चोरीका घटना कमी गर्न परिसरले भदौ २५ देखि असोज १५ गतेसम्म चलाएको अभियानमा उनीहरुलाई पक्राउ गरिएको जानकारी दिए ।

“यातायात व्यवसायीको सहकार्यमा सादा पोसाकका कर्मचारीलाई सवारी साधनमा यात्रा गराई चलाइएको अभियानमा पाकेटमारले नगद, मोबाइल, गरगहना चोर्दाचोर्दै पक्राउ गरेका हौँ”, उनले भने । सपिङ मल र भीडभाड बजारमा चोरी कार्यमा सङ्लग्नलाई पक्राउ गरिएको हो ।

सार्वजनिक बसमा दुई÷दुई जनाका दरले ६ जनासम्मको समूह बनाएर बसभित्र छिर्ने र पैसा भएका यात्रु पत्ता लगाएर चार तीरबाट घेरा हालेर नगद, मोबाइल, गरगहना लुटपाट गर्ने गरेको अनुसन्धानमा पाइएको एसएसपी सिंहले बताए । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव सरोज सिटौलाले पाकेटमारको निगरानी राख्नका लागि यातायात व्यवसायीले सादा पोशाकका कर्मचारीलाई ६० पास उपलब्ध गराएको जानकारी दिए । “चाडपर्वको बेलामा उपत्यकामात्र होइन देशभरी नै चोरी र पाकेटमारी हुनसक्छ, यात्रुहरु सचेत बन्नुहोला”, उनले भने ।

चोरी तथा पाकेटमारले सार्वजनिक सवारी साधनमा चढेपछि साङ्केतिक भाषाको प्रयोग गर्ने गरेको पाइएको छ । पक्राउ परेकामध्ये २०७ जनामध्ये १६१ जनाको अनुसन्धान भइरहेको र ४६ जनाको अनुसन्धान पूरा गरी सरकारी वकिल कार्यालयमार्फत जिल्ला प्रशासन कार्यालय हुँदै कारागार पठाइएको परिसरले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस