खोटाङमा टेलिकमको फोरजी सेवासहितको टावर सञ्चालन « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

खोटाङमा टेलिकमको फोरजी सेवासहितको टावर सञ्चालन


१८ आश्विन २०७८, सोमबार


खोटाङ । जिल्लाको विभिन्न १८ स्थानमा नेपाल टेलिकमको फोरजी सेवासहितको टेलिफोन टावर सञ्चालनमा आएको छ ।

जिल्लाका दश वटै स्थानीय तहमा फोरजी सेवासहितको टेलिफोन टावर सञ्चालन गर्ने लक्ष्य लिएको टेलिकमले पहिलो चरणमा जिल्ला विभिन्न १८ स्थानमा सञ्चालनमा ल्याएको हो ।

दिक्तेलस्थित टेलिकमको कार्यालय, रत्नपार्क, हलेसी, च्यास्मिटार, बाहुनीडाँडा, सिम्पानी, खोटाङबजार, सावाकटहरे, चिसापानी, बराहपोखरी, मात्तिमबिर्ता, खिदिमा, बाँझेच्यानडाँडा, दोर्पाबुवालुङ, फेदी बाक्सिला र बुइपामा जडान गरिएको टावर सञ्चालनमा आएको नेपाल टेलिकम खोटाङका कार्यालय प्रमुख खगेन्द्र मगरले बताए ।

‘नमस्ते मोबाइलका सेवाग्राहीको समस्यालाई मध्यनजर गर्दै टेलिकमले गत आर्थिक वर्ष जिल्लाका २८ स्थानमा टेलिफोन टावर जडानको काम थालेको थियो’, उनले भने, ‘जडान गरिएकामध्ये पहिलो चरणमा १८ वटा सञ्चालन गरिएको छ । निर्माणाधीन दश वटा पनि चाँडै सञ्चालन गर्ने तयारी गरेका छौँ ।’

दोस्रो चरणमा बतासे, छितापोखरी, खार्पा, दुवेकोल, ऐंसेलुखर्क, पाथेका, मेरुङ, मुडे र आमचोकमा जडान गरिएका टेलिफोन टावर सञ्चालन गर्ने तयारी गरिएको टेलिकम खोटाङका कार्यालय प्रमुख मगरले बताए । ‘टेलिफोन टावरका लागि आवश्यक सामग्री ल्याई सकिएको छ’, उनले भने, ‘अहिले जिल्लाका ग्रामीण सडक अवरुद्ध रहेकाले निर्माणस्थल पुर्याउन सकिएको छैन । दसैँ र तिहार लगत्तै बाँकी दश वटै ठाउँका टेलिफोन टावर सञ्चालनमा ल्याउँछौँ ।’

नेपाल टेलिकम खोटाङका अनुसार यस वर्ष जिल्लाका थप तीन ठाउँमा टेलिफोन टावर जडानका लागि केन्द्रबाट कार्यक्रम आएको जनाइएको छ । सल्ले, राजापानी र लिच्किराम्चेमा यस वर्ष टेलिफोन टावर जडानका लागि केन्द्रबाट थप कार्यक्रम आएको कार्यालय प्रमुख मगरले जानकारी दिए।

नेपाल टेलिकमले जिल्लामा फोरजी सेवासहितको टेलिफोन टावर सञ्चालनमा ल्याएपछि अधिकांश भेगका सेवाग्राही लाभान्वित भएका छन् । जिल्लामा जडान गरिएका टेलिफोन टावरलाई प्रभावकारी बनाउन केन्द्रीय प्रसारण लाइनको विद्युत्का साथै सोलार प्यानल जडान गरिएको टेलिकमले जनाएको छ ।

जिल्लाका अधिकांश भेगमा फोरजी सेवासहितको टेलिफोन टावर सञ्चालनमा ल्याएपछि दुई नगर र आठ गाउँपालिका रहेको जिल्लामा नमस्ते मोबाइल प्रयोग गर्ने सेवाग्राहीको सङ्ख्यासमेत वृद्धि हुँदै गएका छन् । गाउँ गाउँमा फोरजीसहितको नमस्ते मोबाइल सेवा सञ्चालन भएपछि जिल्लामा रिचार्ज कार्ड मात्रै रु दुई करोड बढीको खपत हुने गरेको कार्यालय प्रमुख मगरले जानकारी दिए।

टेलिकमले जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारका साथै धार्मिक तथा पर्यटकीय स्थल हलेसी, चिसापानी, ऐँसेलुखर्क र खोटाङ बजारमा ल्याण्डलाइन टेलिफोन विस्तार गरेको छ । जिल्लाका विभिन्न ठाउँमागरी करिब ६०० उपभोक्ताले टेलिकमको एडिएसएल सेवा लिएको जनाइएको छ ।

जिल्लामा इन्टरनेट सेवालाई समेत प्रभावकारी बनाउन पहल थालेको टेलिकमले पछिल्लो समय दिक्तेल बजारमा फाइबर विस्तारको कामसमेत तीव्र गतिमा अगाडि बढाएको छ । दसैँ/तिहारलगत्तै सेवाग्राहीलाई फाइबर सेवा वितरण गर्ने लक्ष्य लिएको टेलिकमले दिक्तेल बजारमा तार टाँग्ने काम सम्पन्न गरिसकेको छ ।

दिक्तेल बजारमा फाइबर सेवा सुरु भएपछि इन्टरनेटमा कुनै समस्या नआउने कार्यालय प्रमुख मगरले बताए। ‘जिल्लामा विस्तार गरिएका एडिएसएल सेवामा समेत बेलाबखत समस्या देखिने गरेको छ’, उनले भने, ‘फाइबारमार्फत वितरण गरिने इन्टरनेट छिटो चल्नुका साथै अवरुद्ध हुने सम्भावना कम हुन्छ ।’

बढ्दो प्रविधिको प्रयोगसँगै जिल्लाका सबै स्थानीय तह तथा सरकारी कार्यालयमा इन्टरनेटमार्फत सेवा प्रवाह शुरु गरिएको छ तर, इन्टरनेट सेवा प्रदायक कम्पनीको लापरबाहीले स्थानीय तह तथा कार्यालयमा जडान गरिएका इन्टरनेट सेवा प्रभावकारी नहुँदा सेवाग्राही मारमा परेका छन् ।

सेवाग्राहीलाई बिना झन्झट छिटो सेवा दिने उद्देश्यले अधिकांश स्थानीय तह तथा सरकारी कार्यालयले पेपरलेस (बिना कागजात) इन्टरनेटमार्फत कामसमेत सुरु गरेको छ । इन्टरनेट सेवा प्रभावकारी नहुँदा कार्यालयमा जडान गरिएका कम्प्युटरमा सिस्टम (प्रविधि) नचलेपछि सेवाग्राहीको काम घण्टौँसम्म रोकिने गरेको छ ।

दश स्थानीय तह रहेको जिल्लामा दर्जन बढी इन्टरनेट सेवा प्रदायक कम्पनीको इन्टरनेट जडान गरिएका छन् । कतिपयले सेवाग्राहीबाट अग्रिम भुक्तानी लिएर जडान गरिदिएका छन् भने, कतिपयले मासिकरुपमा भुक्तानी लिने गरेका छन् ।

इन्टरनेट सेवा प्रभावकारी नहुँदा सबैभन्दा बढी बैङ्क तथा वित्तीय संस्था र जिल्लामा क्रियाशील सञ्चारकर्मी मारमा परेका छन् । यससँगै जग्गा पास तथा नामसारी गर्न जिल्ला मालपोत कार्यालय आउने सेवाग्राही पनि उत्तिकै मारमा पर्ने गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस