एमालेमा ७० वर्षमा उम्मेदवार भएर जिते पूरा कार्यकाल काम गर्न पाउने व्यवस्था « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

एमालेमा ७० वर्षमा उम्मेदवार भएर जिते पूरा कार्यकाल काम गर्न पाउने व्यवस्था


१७ आश्विन २०७८, आइतबार


काठमाडौँ । एमालेले ७० वर्षमा कोही उम्मेदवार भएर जितेमा पूरा कार्यकाल काम गर्न पाउने व्यवस्था विधानमा गरेको छ । ७० वर्षको उमेर हदबारे व्याख्या गर्दै संगठन विभाग प्रमुख विष्णु पौडेलले कुनै पनि व्यक्ति पार्टीको कमिटीमा ७० वर्ष पूरा नहुँदै निर्वाचित भएर कार्यकालको बीचमै ७० वर्ष पूरा भएपनि पूर्ण कार्यकाल काम गर्न पाउने बताएका छन् ।

यो व्याख्याले आगामी दशौं महाधिवेशनमा अध्यक्षमा केपी शर्मा ओली निर्वाचित भए पूर्ण कार्यकाल अध्यक्ष पदमा रहेर काम गर्न पाउनेछन् ।

उनले भने,‘कुनै पनि कमिटीको कार्यकारी पदमा ७० वर्ष पूरा नहुँदासम्म उम्मेदवार हुन पाउनेछ । कार्यकालको बीचमै ७० वर्ष पुगेपनि पूरा कार्यकाल काम गर्ने पाउने व्यवस्था हुनेछ । ७० वर्ष छोएपछि हो कि ७० वर्ष पूरा नहुँदासम्म उम्मेदवार हुन पाउने भन्ने कुरा यसले टुंगो लाग्यो । कार्यकालको बीचमा ७० वर्ष पूरा भएमा पनि कार्यकालको जिम्मेवारी पूरा गर्न पाउने व्यवस्था हो ।’

त्यस्तै, एउटै व्यक्ति उही तहको कार्यकारी पदमा दुई पटकभन्दा बढी उम्मेदवार बन्न नपाउने व्यवस्था पनि विधान महाधिवेशनले पारित गरेको छ ।

पौडेलले भने, ‘प्रतिनिधिले जिताउँछन् कि हराउँछन् उसको कुरा भयो तर दई पटक मात्रै उम्मेदवार बन्न सक्ने व्यवस्था हो । यसमा कुनै इफ बट हुँदैन ।’

Tags :
प्रतिक्रिया दिनुहोस