जनप्रतिनिधिमाथि प्रश्नै प्रश्न « प्रशासन
Logo २ जेष्ठ २०८१, बुधबार
   

जनप्रतिनिधिमाथि प्रश्नै प्रश्न


१५ आश्विन २०७८, शुक्रबार


बागलुङ । सुशासन र जबाफदेहिता प्रवर्द्धनको औजार मानिने सार्वजनिक सुनुवाइमा यहाँका जनप्रतिनिधिले तीव्र गुनासा र प्रश्नको सामना गर्नुपरेको छ ।

हिजो (बिहीबार) जैमिनी नगरपालिकाद्वारा आयोजित सार्वजनिक सुनुवाइको दृश्यले जनताका आकाङ्क्षा र सार्वजनिक निकायका काम तथा सेवा प्रवाहबिच ठुलो अन्तर रहेको देखाउँथ्यो ।

सहभागीबाट उठेका सवालको सम्बोधन गर्न नगरपालिकाका पदाधिकारीलाई हम्महम्मे परेको थियो । पदावधि सकिन लाग्दासमेत जनप्रतिनिधिले चुनावका वेला गरेका वाचा पूरा नगरेकामा स्थानीयवासीले दुखेसो पोखेका थिए ।

राजनीतिक दलका नेता, नागरिक अगुवासमेत नगरपालिकाको कार्य सम्पादनप्रति असन्तुष्ट देखिन्थे । जनप्रतिनिधि र कर्मचारीले भने राम्रा काम पनि भएको भन्दै नगरपालिकाको बचाउ गरेका थिए । स्थानीय युवा छायाँदत्त चापागाईले दर्जन जति प्रश्न नगरपालिकाप्रति तेर्साए ।

सरकारी बजेट खर्चेर नगरप्रमुखसहितले गरेको जापान भ्रमणको उपलब्धि मागेदेखि सार्वजनिक सवारीमा लिने गरिएको मनपरी भाडा दर नियन्त्रण हुन नसकेकोसम्मका विषयमा उनका प्रश्न केन्द्रित थियो ।

स्थानीयवासी तिलक थापाले नगरपालिका स्थापना भएपछि एकपटक मात्रै टालटुले हिसाबले बजार अनुगमन भए पनि त्यसपछि अनुगमनले निरन्तरता नपाएको गुनासो पोखे । उनले अनुगमन समितिको सिफारिसबिनै योजनाको भुक्तानीसमेत हुने गरेको सुनाए ।

राष्ट्रिय जनमोर्चा जैमिनीका सचिव ठाकुरप्रसाद शर्माले कोभिड–१९ का बिरामीलाई अस्पताल पुर्‍याउन गाउँमा एम्बुलेन्स पठाइदिनुस् भन्दा पनि नगरपालिकाले सडक स्तरीय नभएको जवाफ दिएको स्मरण गरे । ‘बिरामी बोक्ने एम्बुलेन्सका लागि सडक राम्रो बनाउने जिम्मा नगरपालिकाको हो की गाउँका गरिब जनताको ?’, उनले प्रश्न गरे । नगरपालिकाका गाडी र डोजरका पार्टस् पोखरामा किनेर अन्तैको बिल हाल्ने गरेको भन्दै शर्माले आक्रोश पोखे ।

भ्रष्ट आचरण भएका कर्मचारीका कारण पनि सुशासन कायम हुन नसकेको उनको भनाइ थियो । सिङ्गै नगर क्षेत्रभरि बिछ्याउन पुग्ने गरी पाइप वितरण भए पनि अहिलेसम्म कुनै पनि उपभोक्ताको घरमा सो पाइपबाट मुहानको पानी नपुगेको उनको दाबी छ । पहिलेको व्यवस्थामा बरु सर्वसाधारणले स्वास्थ्य चौकीबाट निःशुल्क सिटामोल पाउने गरेकामा स्थानीय सरकारका रुपमा नगरपालिका आएपछि त्यो सुविधा पनि हटेको शर्माले बताए ।

नेकपा (माओवादी केन्द्र) का नेता शोभाप्रसाद शर्माले प्रश्नको लामो सूची नै सार्वजनिक सुनुवाइमा प्रस्तुत गरे। उनले कृषि उपज केन्द्र, महिला भवनलगायत अलपत्र भौतिक संरचना अब के हुन्छन् भनी जिज्ञासा राखे । नगरपालिकाको न्यायिक समिति पनि कर्मकाण्डी मात्र भएको उनको आरोप थियो ।

नेपाली काँग्रेसका नगर सभापति प्रेमप्रसाद सापकोटाले सार्वजनिक सुनुवाइमा सकारात्मक कामबारे पनि चर्चा हुनुपर्ने धारणा राखे । शून्यबाट उठेको नगरपालिकाले सीमित स्रोत साधनका बाबजुद जनताका पक्षमा काम गरेको उनले उल्लेख गरे।

नगरपालिकाभित्रका गलत प्रवृत्ति र बेथितिका विरुद्ध जनप्रतिनिधि स्वयंले पनि खबरदारी गर्नुपर्ने सापकोटाको भनाइ छ । नेकपा ९एमाले०का नेता रुद्र आचार्यले नगरपालिकाले आन्तरिक आय वृद्धिका योजना ल्याउनुपर्ने बताए । उनले नगरपालिकाबाट भए गरेका कतिपय सकारात्मक कामको पनि प्रसार नभएको धारणा राखे ।

नगरप्रमुख इन्द्रराज पौडेलले नगरपालिकाका काम र सेवा प्रवाहबारे जनताको तहबाट उठेका प्रश्न र जिज्ञासालाई आफूले सम्मान गर्ने बताए। उनले विकास र पद्धति सिक्न आफूहरु जापान भ्रमणमा गएको प्रस्टाए । उनले नगरपालिकाको न्यून खर्चमा जापान जाने अवसर आउँदा आफूहरु गएको भन्दै आलोचकलाई पनि एकपटक जापान भ्रमणमा जान सुझाए।

दुई वर्षअघि नगरप्रमुखको नेतृत्वमा जनप्रतिनिधि र कर्मचारीको टोली जापान भ्रमणमा गएको थियो । उनले नगरको विकास र जनतालाई दिइने सेवा प्रवाहलाई चुस्त बनाउन हर सम्भव कोसिस गरिए पनि स्रोत साधनको सीमितता, भूगोल, प्रकृति, कोभिड–१९ महामारीलगायतले बाधा उत्पन्न गराएको बताए ।

नगरप्रमुख पौडेलले जनप्रतिनिधिको इच्छाशक्ति कम हुँदा पनि त्यसले कामको प्रभावकारितामा असर पुर्‍याउने गरेको अनुभव सुनाए । उनले जनप्रतिनिधि र कर्मचारी संयन्त्रबाट कुनै कमजोरी भएका भए त्यसलाई सच्चाएर जाने प्रतिबद्धता व्यक्त गरे । ‘हामी निर्वाचित हुँदा गरेका प्रतिबद्धता कतिपय पूरा हुँदै छन्, बजेट, स्रोत साधनको अभावमा पनि केही योजना अगाडि बढाउन सकिएको छैन’, उनले भने । नगरपालिका बनेपछि पहिलो वर्षको कार्ययोजनाअनुसार नगरका सबै विद्यालय र स्वास्थ्य संस्थामा सडकको पहुँच पुर्‍याइएको उनको भनाइ छ ।

यही वर्ष नगर खरका छानामुक्त हुने र घरबारविहीनलाई घर बनाइदिने नगरप्रमुख पौडेलले बताए। अति विपन्नको घर निर्माणका लागि सङ्घ सरकारले विशेष अनुदानबापत रु एक करोड नगरपालिकालाई उपलब्धसमेत गराइसकेको छ । यस्तै भूमिहीनको समस्या पनि सधैँका लागि अन्त्य हुने नगरप्रमुख पौडेलले बता ए । सडक, खानेपानी, सिँचाइलगायत पूर्वाधार विकासका योजनालाई पनि गति दिइने उनको भनाइ छ ।

सामाजिक तथा मानव विकासका क्षेत्रमा पनि नगरपालिकाले लगानी बढाइरहेको प्रमुख प्रशासकीय अधिकृत ज्ञानराज कोइरालाले बताए। उनका अनुसार शिक्षा क्षेत्रमा मात्र नगरपालिकाको झन्डै ५० प्रतिशत बजेट खर्च भइरहेको छ । त्यसपछि ठुलो बजेट स्वास्थ्यमा जान्छ । योजना अधिकृत प्रेमप्रसाद सापकोटाले गत आवमा भौतिकतर्फ नगरपालिकाले कूल ८८ प्रतिशत र वित्तीयतर्फ ८३ प्रतिशत प्रगति हासिल गरेको उल्लेख गरे ।

गत वर्ष २३ किमि नयाँ सडक विस्तार भएको र एक हजार २०० मिटरमा कालोपत्र भएको उनको भनाइ छ । आफ्नै भवन निर्माणका लागि नगरपालिकाले जग्गासमेत व्यवस्थापन गरिसकेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस