धवलागिरि हिमालमा पहिलोपटक नेपाली महिलाको सफल आरोहण « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

धवलागिरि हिमालमा पहिलोपटक नेपाली महिलाको सफल आरोहण


१५ आश्विन २०७८, शुक्रबार


म्याग्दी । संसारको सातौँ आठ हजार १६७ मिटर अग्लो धवलागिरि हिमालमा पहिलोपटक नेपाली महिलाले सफल आरोहण गरेकी छन् ।

धवलागिरि गाउँपालिका–४ मा पर्ने उक्त हिमालमा पूर्णिमा श्रेष्ठले सफल आरोहण गरेकी हुन् । काठमाडौँको सेभेन समिट ट्रेकिङ कम्पनीमार्फत श्रेष्ठ यही असोज २ गते मुस्ताङको मार्फा हुँदै पैदल मार्ग भएर धवलागिरि हिमाल आरोहणमा गएकी थिइन् ।

सेभेन समिट ट्रेकिङका सञ्चालक मिङ्मा शेर्पाले पूर्णिमासहित आफ्नो कम्पनीका २० जनाले आज बिहान ५ः०० बजे धवलागिरिको सफल आरोहण गरेका जानकारी दिए । ‘धवलागिरि हिमालमा नेपाली महिलाले पहिलोपटक आरोहण गरेका हुन्’, उनले भने, ‘धवलागिरिमा यसअघि नेपाली महिलाले सफल आरोहण गरेको रेकर्ड छैन ।’

श्रेष्ठसँगै गएकी माया शेर्पालगायतले आरोहण गरे/नगरेको पुष्टि हुन बाँकी रहेको शेर्पाले बताए । पत्रकारसमेत रहेकी गोरखा आरुघाटकी पूर्णिमाको टोलीले यसअघि गत वैशाख ३ गते म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङस्थित आठ हजार ८१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमालको सफल आरोहण गरेर कीर्तिमान बनाएका थिए ।

पूर्णिमाको टोली अन्नपूर्ण हिमाल आरोहण गर्ने पहिलो नेपाली महिला हुन् । शेर्पा (पथप्रदर्शक) पेम्बा शेर्पाको सहयोगमा पूर्णिमाले धवलागिरि आरोहण गरेकी हुन् । पूर्णिमा कारोबार आर्थिक दैनिकमा कार्यरत पत्रकार हुन् । उनले यसअघि सन् २०१८ मा सगरमाथा, २०१७ मा मनास्लु र २०१९ मा आमाडब्लम हिमालको आरोहण गरेकी थिइन् ।

पूर्णिमाले आधार शिविर जानुअघि बेनीमा कोरोनाको दोस्रो लहर फैलिएपछि रोकिएका गत याममा गर्ने भनेको धवलागिरि आरोहण गर्ने लक्ष्य यसपालि पूरा गर्न लागेको बताएकी थिइन् ।

Tags :
प्रतिक्रिया दिनुहोस