चौधरी ग्रुपद्वारा सरकारलाई १४ अर्ब २८ करोड रुपैयाँ कर « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

चौधरी ग्रुपद्वारा सरकारलाई १४ अर्ब २८ करोड रुपैयाँ कर


१२ आश्विन २०७८, मंगलबार


काठमाडौँ ।आर्थिक वर्ष २०७७ र ७८ मा चौधरी ग्रुपले सरकारलाई १४ अर्ब २८ करोड रुपैयाँ कर तिरेको बताएको छ ।

उक्त आवमा सरकारले सङ्कलन गरेको कुल राजस्व रकमको १.७३ प्रतिशत चौधरी ग्रुपले मात्रै तिरेको ग्रुपले हिजो (सोमबार) जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

कोरोना महामारीले अर्थतन्त्रमा परेको गम्भीर असरका बिच पनि अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा बढी राजस्व तिरिएको चौधरी ग्रुपको भनाइ छ ।

ग्रुपका अनुसार उसले आर्थिक वर्ष २०७४ र ७५ मा ९ अर्ब ६७ करोड ५७ लाख, २०७५ र ७६ मा ११ अर्ब ६७ करोड ५९ लाख र २०७६ र ७७ मा ९ अर्ब ८७ करोड २३ लाख रुपैयाँ बराबर कर तिरेको थियो । पछिल्लो चार आर्थिक वर्षमा मात्रै ग्रुपले साढे ४५ अर्ब राजस्व बुझाएको बताएको छ ।

चौधरी ग्रुपको खाद्य पदार्थदेखि जलविद्युत् र वित्तीय क्षेत्रमा समेत लगानी छ । ग्रुप मातहत सञ्चालित विभिन्न कम्पनीले नै उक्त राजस्व योगदान गरेका हुन् ।

‘कोभिडका कारण राष्ट्रिय अर्थतन्त्र नै सङ्कुचित भएको समयमा हामीले राजस्वमा गर्न सकेको उल्लेख्य योगदानको तथ्यले मलाई उत्साहित बनाएको छ,’ ग्रुपका अध्यक्ष विनोद चौधरीले भने, ‘स्वास्थ्य सङ्कटको व्यवस्थापन र कोभिड खोप खरिदलगायत सरकारका अत्यावश्यक दायित्व व्यवस्थापनमा यसले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको होला भन्ने मैले विश्वास लिएको छु ।’

Tags :
प्रतिक्रिया दिनुहोस