नुवाकोट । नुवाकोटको थानसिङमा ट्रिपरको ठक्करबाट एक जनाको मृत्यु भएको छ । अन्य दुई जना घाइते भएका छन् । मृत्यु हुनेमा लिखु–३ पट्टावारीका २८ वर्षीय रामकुमार गजुरेल रहेका छन् ।
लिखु गाउँपालिका ५ डुडेवगैचा थानसिङमा आइतबार मध्यराती काठमाडौँबाट नुवाकोटको ढिकुरेतर्फ जाँदै गरेको ना८ख ५७९१ नम्बरको ट्रिपरले मोटरसाइकल रोकेर कुराकानी गरिरहेका वेला ठक्कर दिँदा गजुरेलको ज्यान गएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।
सो घटनामा गजुरेलका साथीहरु सोही स्थानका ३२ वर्षीय प्रकाश पाठक र ५५ वर्षीय नवराज रोक्का गम्भीर घाइते भएका छन् ।
घाइते दुवै जनाको काठमाडौँको ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालमा उपचार भइरहेको छ ।
घटनाको विरोध गर्दै स्थानीयले काठमाडौँ जाने ढिकुरे–छहरे–टोखा सडकमार्ग अवरुद्ध गरेका छन् । उनीहरुले चालकलाई पक्राउ गरि कारबाही गरिनु पर्ने र मृतकका आश्रित परिवारलाई क्षतिपूर्ति दिनु पर्ने माग गरेका छन् ।
फरार रहेका ट्रिपर चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।