१५ बेडको बागलुङ नगर अस्पताल सञ्चालनमा « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

१५ बेडको बागलुङ नगर अस्पताल सञ्चालनमा


८ आश्विन २०७८, शुक्रबार


गलकोट । बागलुङ नगरपालिकामा १५ शैय्याको नगर अस्पतालको सञ्चालनमा आएको छ । एक पालिका एक आधारभूत अस्पताल निर्माण गर्ने सरकारको लक्ष्यअनुरूप बागलुङ नगरपालिका–१३ स्थित पैंयुपाटा स्वास्थ्यचौकीलाई स्तरोन्नति गरी बागलुङ नगर अस्पताल बनाइएको हो ।

शुक्रबार एक समारोहका बीच बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले नगर अस्पतालको उद्घाटन गरे ।

नगर अस्पताल निर्माणका लागि स्थानीयको सक्रियतामा नौ रोपनी जग्गा व्यवस्थापन गरेपछि नेपाल सरकारले नगर अस्पताल स्वीकृत दिएको छ । पैंयुपाटा स्वास्थ्य चौकीलाई स्तरोन्नति गरी बागलुङ नगर अस्पतालको रूपमा सेवा दिन थालिएको छ ।

नगर अस्पताललाई आवश्यक भवन निर्माण ठेक्का स्वीकृत भएर अगाडि बढेको र अहिले साविक स्वास्थ्यचौकीकै भवनबाट अस्पतालले सेवा प्रदान गर्ने नग प्रमुख पौडेलले जानकारी दिए ।

‘जग्गा अपुग तथा अन्य स्थान समेतमा नगर अस्पताल स्वीकृत भएकाले समस्या भएको थियो, संशोधनपछि पैंयुपाटामै नगर अस्पताल स्थापना भएको छ,’ नगर प्रमुख पौडेलले भने, ‘प्रदेशले जनशक्ति व्यवस्थापन गर्ने भएको छ, तत्कालै हामीले एक जना मेडिकल अधिकृत व्यवस्थापन गरेका छौं ।’

आवश्यकता अनुसार नौ रोपनी जग्गामा सुविधा सम्पन्न भवन निर्माण हुने गण्डकी प्रदेशको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका डा। रामबहादुर केसीले बताए । १५ शैय्याका लागि आवश्यक दरबन्दी छिट्टै पठाउने उनले जानकारी दिए ।

आईएमई गु्रपका अध्यक्ष चन्द्र ढकालको १० लाख र अन्य स्थानीयले दिएको पाँच लाख गरी १५ लाख रुपैयाँको लागतमा जग्गा खरिद गरेर अस्पताल निर्माण गर्न थालेको बागलुङ नगरपालिका–१३ का वडाध्यक्ष नारायण शर्मा पौडेलले बताए ।

अस्पताल निर्माणको लागि सरकारले १८ करोड बजेट विनियोजन गरेपछि १२ करोड ८७ लाखमा महालक्ष्मी निर्माण सेवासँग दुई वर्षमा सक्ने गरी ठेक्का सम्झौता भइसकेको छ । स्वास्थ्यचौकीमा हालसम्म जनस्वास्थ्य निरीक्षकसहित आठ जनाले सेवा दिँदै आएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस