रसुवा । चिज उत्पादन केन्द्र लाङटाङले आगामी वर्षदेखि ५ हजार ५ सय मिटर उचाइबाट चिज उत्पादन गर्ने भएको छ । केन्द्रले रसुवाको यालाखर्कबाट चिज उत्पादन सुरु गर्ने भएको हो ।
चौरीपालक कृषकको अनुरोधमा यालाखर्कबाट चिज उत्पादन सुरु गर्न लागेको केन्द्रका प्रमुख ग्याल्बो तामाङले जानकारी दिएका छन् ।
केन्द्रले लाङटाङमा वार्षिक ५ हजार किलोसम्म चिज उत्पादन गर्ने जनाएको छ । यसअघि सो केन्द्रले गोसाईंकुण्ड गाउँपालिकाको पाङ्लेखर्क, चन्दनबारी, लाङटाङ र आमाछोदिङ्मो गाउँपालिकाको गत्लाङ तथा सान्जेनमा चिज उत्पादन गर्दै आएको छ ।
कोभिड महामारी अघिसम्म जिल्लामा उत्पादित चिज लाङटाङ तथा क्यान्जिनमा रहेका होटलमै खपत हुने गरेकोमा कोभिडपछि दुग्ध विकास संस्थानले काठमाडौँ चिज खरिद गरिरहेको छ ।