स्वास्थ्यकर्मीको लापरवाही देखिएको छानबिन समितिको निष्कर्ष « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

स्वास्थ्यकर्मीको लापरवाही देखिएको छानबिन समितिको निष्कर्ष


२८ भाद्र २०७८, सोमबार


कोहलपुर । बाँकेको भेरी अस्पतालमा यही भदौ ९ गते भएको घटनामा स्वास्थ्यकर्मीको लापरवाही देखिएको छानबिन समितिले निष्कर्ष निकालेको छ । समितिले बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलाललाई सोहीअनुसारको प्रतिवेदन बुझाएको छ ।

भेरी अस्पतालमा सुत्केरी भएकी बाँके सिमलघारीकी चन्द्रा विकको शिशुको मृत्यु भएपछि अस्पतालमा तनाव भएको थियो । शव बुझेर अन्तिम दाह संस्कार गर्ने क्रममा मृतक शिशुको दुवै हातमा दुई आमाको ट्याग लागेको देखिएको थियो । सो घटनामा एउटा हातमा चन्द्रा र अर्को हातमा गीता थारुको ट्याग देखिएपछि उनीहरुले शव भेरी अस्पतालमा मै फर्काएर आन्दोलन सुरु गरेका थिए । त्यसपछि घटनाबारे छानबिन गर्न समिति बनाउने, शिशुको डिएनए परीक्षण गर्नेलगायतका विषयमा सहमति भएपछि पीडितका आफन्तले सहमतिमा आन्दोलन रोकेका थिए ।

छानबिन समितिले स्वास्थ्यकर्मीले लापरवाही गरेको निष्कर्षसहितको प्रतिवेदन प्रमुख जिल्ला अधिकारी गेलाललाई बुझाउँदै यस्ता गल्ती नदोहोर्‍याउन अस्पताल प्रशासन तथा स्वास्थ्यकर्मीलाई सचेत बनाएको छ । एनआइसीयूमा एउटा बिरामी बच्चाका साथ एउटा स्वास्थ्यकर्मी खटाउन पनि समितिले सुझाव दिएको छ ।

समितिले बिरामीलाई गर्नुपर्ने व्यवहार स्वास्थ्यकर्मीबाट हुन नसकेको भन्दै त्यसलाई सुधार्न पनि भनेको समितिका सदस्य वसन्त गौतमले जानकारी दिए । बालरोग विशेषज्ञ डा रोमा बोहराको नेतृत्वमा छानबिन समितिले दुई हप्ता लगाएर प्रतिवेदन बुझाएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस