विवादकै बीच डडेल्धुरामा सुरु भयो वडा अधिवेशन « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

विवादकै बीच डडेल्धुरामा सुरु भयो वडा अधिवेशन


२५ भाद्र २०७८, शुक्रबार


काठमाडौँ। क्रियाशील सदस्यताको विवादकै बीच डडेलधुराका स्थानीय तहमा नेपाली काँग्रेसको वडा अधिवेशन सुरु गरिएको छ ।

जिल्ला कार्यसमितिले यही भदौ २२ गते नै फर्जी क्रियाशील सदस्यबाट अधिवेशन सम्भव नहुने भन्दै जिल्ला अधिवेशन स्थगित गरेको थियो । जिल्ला निर्वाचन अधिकृतले वडा अधिवेशनको प्रक्रिया सुरु गरेका छन् ।

‘बिहान ८ बजेदेखि नै वडाहरूमा उद्घाटन सत्र सुरु भएको जानकारी आएको छ, उत्साहका साथ वडा अधिवेशनमा सहभागिता भएको खबर छ,’ डडेलधुराका निर्वाचन अधिकृत लोकेन्द्रबहादुर बमले भने, ‘कुन–कुन वडामा सुरु भयो, कुन कुनमा बाँकी छ भन्ने खबर भने आएको छैन ।’

आज मध्याह्नपछि मात्र कुन वडाको अवस्था के छ भनेर जानकारी आउने उनले बताए ।

जिल्ला सभापति कर्ण मल्लले भने डडेलधुरामा ‘ज्ञानेन्द्र शासन’ सुरु भएको बताए । ‘हाम्रा प्रधानमन्त्री श्रद्धेय सभापति शेरबहादुर देउवाबाट ज्ञानेन्द्र शासन सुरु भयो, प्रहरी लगाएर पार्टीको महाधिवेशन गराउने प्रयत्न हुँदै छ, हामी त्यसमा सहभागी छैनौँ ।’

उनले सुदूरपश्चिम प्रदेशका सशस्त्र र जनपद प्रहरी डडेलधुरामा जम्मा गरिएको भन्दै वडा कार्यलयहरूमा क्रियाशील सदस्य र कार्यसमितिमा मान्छे नभए पनि प्रहरी भने उपस्थित भएको बताए ।

‘अहिलेसम्म क्रियाशील सदस्यहरूलाई यहाँ जम्मा हुनुस् भन्ने सूचनासम्म पनि गरिएको छैन,’ मल्लले भने, ‘बिना सूचना वडा अधिवेशन कसरी सम्पन्न हुँदो रहेछ हामी हेरिरहेका छौँ ।’

उनले यसअघि देउवाका नाममा गतिविधि हुने गरे पनि प्रहरी परिचालनपछि सभापति देउवा आफैँ जिल्लाको गुटगत राजनीतिमा आएको प्रस्ट भएको बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस