भरियालाई बोकाएर अक्सिजनको जोहो « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

भरियालाई बोकाएर अक्सिजनको जोहो


२५ भाद्र २०७८, शुक्रबार


बलेवा । अस्पतालमा कोरोना सङ्क्रमण भएका बिरामी बढेका छन् । सघन उपचार कक्षमा रहेका तीन बिरामीका लागि उच्च गतिमा अक्सिजन दिनुपर्छ । विद्युत् आपूर्ति अनियमित भएकाले अस्पतालको प्लान्टले राम्रोसँग अक्सिजन उत्पादन गर्दैन ।

पोखराबाट सिलिन्डर भरेर ल्याउन मध्य पहाडी लोकमार्गमा एक साता पहिले खसेको पहिराका कारण समस्या छ ।

अक्सिजनको अभाव हुन नदिन अस्पताल प्रशासनले वैकल्पिक मार्गबाट सिलिन्डर भरेर ल्याउन थालेको छ । पोखराबाट स्याङ्जा हुँदै पर्वतको कटुवाचौपारी ल्याइएका सिलिन्डर बोकेर पर्वत सदरमुकाम कुश्मा ल्याइएको हो । सशस्त्र प्रहरीको सहयतामा कुश्मा ल्याइएका सिलिन्डर त्यहाँबाट सवारीको सहयतामा बागलुङ पुर्याइएको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट शैलेन्द्र विक पोखरेलले बताए । अस्पतालमा अक्सिजन अभाव हुन नदिन पोखरेल आफैँ खटेका छन्।

‘राति १२ बजेसम्म दुई जनाले एउटा सिलिन्डर बोकेर पहिरो छलियो, सशस्त्र प्रहरीले सघाउनुभयो’, पोखरेल भन्छन्, ‘केही दिन त मौज्दात सिलिन्डरले धाने, बाटो खुल्ने छाँट नदेखेपछि बोकेरै भए पनि सिलिन्डर भरेर ल्यायौँ ।’ अस्पतालले बुधबार मात्रै ३५ ठुला सिलिन्डर पोखराबाट भरेर ल्याएको छ ।

पोखराका कम्पनीले गाडी पठाउन नसकिने जनाएपछि पर्वतबाटै सिलिन्डर बोक्ने गाडी स्याङ्जाको बाटो पठाइएको थियो । कुश्मामा सिलिन्डर निकाल्न सबैभन्दा धरै समस्या भएको पोखरेल बताउँछन् । सघन उपचार कक्षमा मात्रै होइन, अस्पतालको आइसोलेसनमा समेत कोरोनाका बिरामी छन् ।

अस्पतालमा भरेर राखेका सिलिन्डरको ‘रिप्लेस’ नहुँदा सङ्कट आउने भन्दै विकल्पको खोजी गर्न थालेको अस्पताल प्रशासनले जनाएको छ । बीस बिरामीलाई पुग्ने अक्सिजन अस्पतालमै रहेको प्लान्टबाट उत्पादन हुने भए पनि पहिराकै कारण ठाउँ ठाउँमा क्षति भएको विद्युत्को प्रसारण लाइन अनियमित हुँदा राम्रोसँग चल्दैन । नयाँ प्लान्ट स्थापनका काम अघि बढेको भए पनि प्लान्ट ल्याउन ढिलाइ हुँदा पोखराबाट अक्सिजन भरेर ल्याउने गरिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस