परिवारबाट अलग्गिएका सयौँ बालबालिकाको अफगानिस्तानबाट उद्धार : राष्ट्रसङ्घ « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

परिवारबाट अलग्गिएका सयौँ बालबालिकाको अफगानिस्तानबाट उद्धार : राष्ट्रसङ्घ


२३ भाद्र २०७८, बुधबार


जेनेभा । तालिबान सत्तामा आएपछि अफगानिस्तानमा अस्तव्यस्तताबिच छुटेका सयौँ बालबालिकालाई उद्धार गरिएको संयुक्त राष्ट्र सङ्घले मङ्गलबार जनाएको छ ।

उनीहरू अमेरिकी सेनाको बहिर्गमनसँगै अफगानिस्तानबाट आफ्ना बाबुआमासँग विदेश जान विमानस्थल र वरपरका क्षेत्रमा पुगेका तर परिवारबाट छुटेका बताइएको छ ।

संयुक्त राष्ट्र बाल कोष (युनिसेफ) ले बताएअनुसार अगस्त १४ देखि अफगानिस्तानबाट परिवारसँग बाहिरिने क्रममा छुटेका करिब ३०० जना बालबालिकाहरू दर्ता भएका थिए ।

युनिसेफ प्रमुख हेनरिएटा फोरले उनीहरूको सुस्वास्थ्य र सुरक्षाको चिन्ता व्यक्त गर्दै एउटा बयानमा भने, ‘हामीले करिब ३०० बालबालिका परिवारबाट अलग्गिएको तथ्याङ्क पाएका छौ । अझै धेरै बालबालिकाहरूले आफूहरू परिवारबाट अलग्गिएको बताएकोले यो सङ्ख्या थप बढ् नसक्ने छ । उनीहरूको पहिचान तथा छानबिन गर्ने प्रयास जारी छ ।’

यूनिसेफले बताएअनुसार अगस्टको अन्त्यमा अमेरिकी सेना पूर्णतया हट्नुभन्दा पहिले देश छोड्ने हतारमा हजारौँ मानिसहरू काबुल विमानस्थलमा ओइरिँदै गर्दा धेरै केटाकेटीहरू आफ्नो परिवारबाट अलग्गिएका थिए ।

अन्तिम दिनहरूमा संयुक्त राज्य अमेरिकाले काबुलको विमानस्थलबाट एक लाख २३ हजार भन्दा बढी मानिसहरूलाई अफगानिस्तानबाट बाहिरिन सघाएको अमेरिकी अधिकारीहरूले बताएका छन् ।

अमेरिकी नागरिक तथा अनुवादमा अमेरिकी मिसनलाई सहयोग गर्नेलगायतका र बसाइँ सर्न विशेष भिसाका लागि योग्य भएका अन्य व्यक्तिहरू सहित उनीहरूलाई विभिन्न मुलुक हुँदै अमेरिका, युरोप लगायतका केही एसियाली मुलुकमा शरण दिइएको छ ।

जर्मनी, कतार र अन्य देशहरूको उडानमा छुट्टिएका केही बालबालिकाहरूलाई उद्धार गरिएको युनिसेफले बताएको हो ।

फोरले भने, ‘विमानस्थलमा सङ्कट देखा परेको वा उद्धार उडानमा जान लागेका उनीहरूलाई भीडमा ठक्करपछि अचानक आफ्नो परिवारबाट छुट्दा यी केटाकेटीहरू कति डराए होलान् भन्ने कुरा म कल्पना मात्र गर्न सक्छु ।’ छुट्टिएका बालबालिकाहरू ‘संसारका सबैभन्दा कमजोर केटाकेटीहरूमध्ये’ भएका उनले औँल्याए ।

‘पारिवारिक अनुसन्धान र पुनर्मिलन प्रक्रियाका क्रममा उनीहरुलाई छिट्टै पहिचान गरी सुरक्षित राख्नु अत्यावश्यक छ,’ उनले जोड दिए । उनले भने, ‘सबै पक्षले बच्चाको हितलाई प्राथमिकता दिनुपर्छ र बालबालिकालाई दुर्व्यहार, उपेक्षा र हिंसाबाट जोगाउनुपर्छ ।’

युनिसेफले हाल उद्धार गरिएका बालबालिकाहरूको रेखदेख गरिरहेका सरकारहरूलाई प्राविधिक सहयोग प्रदान गरिरहेको र अझै पनि देशमा छुटेकाहरूलाई दर्ता गर्न, उनीहरूको परिवारको पत्ता लगाउन र पुनर्मिलन गर्न प्रयास गर्न मद्दत गरिरहेको बताइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस