मध्यपश्चिम विश्वविद्यालयले बनायो परीक्षा सञ्चालन कार्यविधि « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

मध्यपश्चिम विश्वविद्यालयले बनायो परीक्षा सञ्चालन कार्यविधि


१६ भाद्र २०७८, बुधबार


सुर्खेत । मध्यपश्चिम विश्वविद्यालयले परीक्षा सञ्चालन गर्न कार्यविधि बनाएको छ । विश्वविद्यालयले निर्माण गरेको वैकल्पिक तथा भौतिक विधिबाट परीक्षा सञ्चालन, व्यवस्थापन र मूल्यांकन कार्यविधि २०७८ अनुसार अब विद्यार्थी आफैंले कुनै पनि माध्यम रोज्न पाउने भएका छन् ।

परीक्षामा सहभागिताका लागि विभिन्न विकल्प तय गरिएको छ । परीक्षामा विद्यार्थीले वैकल्पिक वा भौतिक विधिमध्ये कुनै एक रोजेको विधिबाट परीक्षा दिन पाउने कार्यविधिमा व्यवस्था गरिएको छ ।

परीक्षामा सहभागी हुने विकल्प छनौटका लागि बढीमा पाँच दिनको समय दिएर परीक्षा व्यवस्थापन कार्यालयले प्रश्नावली तयार गर्ने र गुगल सिटमा उत्तर प्राप्त हुने गरी विद्यार्थीलाई सम्बन्धित क्याम्पसस्थित परीक्षा केन्द्रबाट लिंक उपलब्ध गराइनेछ ।

‘परीक्षा केन्द्रबाट प्राप्त विवरण भरेर सम्पूर्ण विद्यार्थीले वैकल्पिक वा भौतिक विधिमध्ये कुनै एक विधि छनोट गरी पठाउनुपर्नेछ । परीक्षा विधि छनोट प्रश्नावलीमा सहभागी नभएका विद्यार्थीले भौतिक विधिअन्तर्गत परीक्षा दिनुपर्ने हुन्छ,’ विश्वविद्यालयले निर्माण गरेको परिक्षा सञ्चालन, व्यवस्थापन र मूल्यांकन कार्यविधि २०७८ मा भनिएको छ ।

विद्यार्थीले एक पटक कुनै परीक्षा विधि छनोट गरिसकेपछि सो विधि परिवर्तन गर्न नपाइने व्यवस्था गरिएको छ ।

वार्षिक परीक्षा भदौ २८ गतेदेखि हुने

विश्वविद्यालयले विभिन्न तहका वार्षिक र मौका परीक्षाको कार्यतालिका समेत सार्वजनिक गरेको छ । परीक्षा नियन्त्रण कार्यालयले सार्वजनिक गरेको कार्यतालिका अनुसार भदौ २८ गतेदेखि दशैंको अघिल्लो दिन अर्थात् असोज २० गतेसम्म परीक्षा लिइने बताएको छ ।

पहिलो दिन ९भदौ २८ गते० विज्ञान तथा प्रविधि संकायका स्नातक तहका बीएस्सी र बीएस्सी सीएआईटीका आठौं सेमेष्टरका मौका परीक्षा र अन्तिम दिन ९असोज २० गते० शिक्षाशास्त्र संकायअन्तर्गत बीएड चौथो सेमेष्टरका परीक्षाहरू हुनेछन् । सेमेष्टर ‘ग्याप’ भएका परीक्षाहरू बिहान ८ बजेदेखि साढे १० बजेसम्म र अन्यको सन्दर्भमा मध्यान्ह १२ बजेदेखि दिउँसो साढे २ बजेसम्म सञ्चालन हुनेछन् ।

कार्यतालिका अनुसार विश्वविद्यालयले बीएस्सी, बीएस्सी सीएसआईटी, बीए, बीएड, बीबीएको आठौं सेमेष्टरका मौका परीक्षा, सेमेष्टर नै ग्याप भएका एमबीएका पहिलो र तेस्रो सेमेष्टर वार्षिक परीक्षा लिन लागेको परीक्षा व्यवस्थापन प्रमुख सुवेदीले बताए ।

यसैगरी बीएड, एमएड, बीबीए, बीएचएम, बीटीटीएम बीबीएस, बीएमसी, एमबीए, बीए, एमए, बीई सिभिल र कम्प्युटरका दोस्रो, चौथो र छैटौं सेमेष्टरका वार्षिक परीक्षा तालिका सार्वजनिक गरिएको छ ।

यसअघि साउन ८ गतेदेखि हुने भनिएका वार्षिक तथा मौका परीक्षा विद्यार्थीहरूको आन्दोलनका कारण डेढ महिनादेखि रोकिएका थिए ।

विश्वविद्यालय उच्चस्तरीय समस्या समाधान समिति र आन्दोलनरत विद्यार्थीबीच सातबुँदे सहमतिपछि विद्यार्थीले आन्दोलनका कार्यक्रम स्थगित गरेर विश्वविद्यालयमा लगाइएको ताला खोलिएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस