बाढीले कटान गरेपछि उच्च जोखिममा वनहरा नदीको पुल « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

बाढीले कटान गरेपछि उच्च जोखिममा वनहरा नदीको पुल


१५ भाद्र २०७८, मंगलबार


कञ्चनपुर । वनहरा नदीले कटान गरेपछि शुक्लाफाँटा नगरपालिका-१२ तिलकी र दमलपट्टिलाई जोड्ने झोलुङ्गे पुल उच्च जोखिममा परेको छ। 

पुल जोगाउनका लागि निर्माण गरिएको तटबन्ध छाडेर नदीभित्र पसेर बग्न थालेपछि पुल जोखिममा परेको हो । नदीमा आएको बाढीको पानीले पुल क्षेत्र नजिकको जग्गा कटानको कार्य तीव्र बनाएको स्थानीय मङ्गलप्रसाद चौधरीले बताए ।

‘जग्गा कटान पुलसम्म पुग्न ३० मिटर पनि छैन’, उनले भने, ‘पुलसम्म नै नदीले जग्गा कटान गरे पुल ढल्ने सम्भावना बढेर गएको छ ।’ सम्बन्धित निकायमा यसबारे जानकारी गराई सकिएको भए पनि पुल जोगाउनका लागि कुनै पनि प्रयत्न हालसम्म नगरिँदा निकै चिन्तित भएको उनले बताए ।

‘पुल बगेमा यस क्षेत्रको आवागमन नै रोकिन्छ’, स्थानीय बालसुग्रिव रानाले भने, ‘चुरे क्षेत्र र तराई क्षेत्रमा लगातार पानी पर्ने क्रम जारी रहेकाले जग्गा कटानको कार्य रोकिएको छैन ।’ पुल क्षेत्रसँगै जोडिएको स्थानीय बासिन्दाको झन्डै १० कट्ठा बढी धान रोपेको उब्जाउ जग्गा यस वर्षको बाढीले बगाई बगरमा परिणत गरिसकेको छ ।

वनहरा र दोदा नदीको संगमस्थलमा पुल निर्माण गरिएको छ । सो क्षेत्रको जग्गा नदीको पानी घट्ने क्रममा बढी कटान गर्दै आएको छ । बलौटे दोमट जग्गा भएकाले थोरै नदीको बाढीले पनि कटानी गरी बगाउँदै आएको छ । वडाध्यक्ष बाले रानाले पुलसँगै स्थानीय बासिन्दाको बाढीको पानीले जग्गा कटानी गर्दै आएको क्षेत्र जोगाउनका नगरपालिका कार्यालयमा जानकारी गराएको भए पनि सुनवाइ हुन नसकेको बताए ।

‘नदीको बाढीले गर्दै आएको जग्गा कटानी रोक्नका लागि वडासँग बजेट नै छैन’ उनले भने, ‘नगरपालिकाले चासो दिँदैन । प्रदेश सरकार सँग बलियो तटबन्ध निर्माणका लागि अनुरोध गरेका छौँ तर सुनवाइ छैन ।’ दुई तिरबाट नदीले घेरिएको बस्तीका बासिन्दालाई आवतजावतमा सहजता प्रदान गर्नका लागि दुई वर्ष अघि झोलुङ्गे पुल निर्माण गरिएको थियो । तीन सय मिटर लम्बाइको पुल दुई करोड बढीको लागतमा निर्माण गरिएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस