किमाथाङ्का । उत्तर दक्षिण कोसी राजमार्गअन्तर्गतको मकालु गाउँपालिका क्षेत्रको सडक पहिरोले अवरुद्ध भएको छ ।
मकालु–३ हेदाङ्नास्थित नयाँ बस्तीमा सुक्खा पहिरो खसेपछि सङ्खुवासभाको भोटखोला जाने उत्तर दक्षिण कोसी राजमार्ग अवरुद्ध भएको उत्तर दक्षिण सडक कार्यालयका प्रमुख इन्जिनियर गौतमकुमार श्रेष्ठले जानकारी दिए।
अवरुद्ध कोसी राजमार्गको पहिरो हटाउने काम भइरहेको र बिहीबार बिहानसम्म सडक खुल्ने प्रमुख इन्जिनियर श्रेष्ठले बताए। कोसी राजमार्गको पहिरो हटाउन उत्तर दक्षिण सडक कार्यालयलाई निर्देशन दिइसकेको र बिहीबार बिहानसम्म सडक खुलाउने प्रयास भइरहेको सङ्खुवासभाका प्रमुख जिल्ला अधिकारी टेकनाराण पौडेलले बताए ।
पहिरो हटाउँदा निर्माणाधीन ९०० मेगावाटको अरुण तेस्रो आयोजनाको ड्याम साइडमा ढुङ्गा खस्ने भएका कारण आयोजनाको काम रोक्न लगाएर पहिरो हटाउन थालिएको प्रजिअ पौडेलले बताए ।
सडक अवरुद्ध भएपछि भोटखोलाबाट सदरमुकाम खाँदबारी आउने दर्जनौँ यात्रु नयाँ बस्ती नजिकै अलपत्र परेको मकालु–३ का वडाध्यक्ष टेकबहादुर राईले बताए। त्यस क्षेत्रमा लगातार सुक्खा पहिरो खसिरहने भएका कारण बेलाबेला कोसी राजमार्गको भोटखोला सडक खण्ड अवरुद्ध हुने गरेको छ ।